शितगंगाका पहिरो पीडितलाई कोरियाबाट आर्थिक सहयोग

हिमाल खनाल, दक्षिण कोरिया, सिओल । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले अर्घाखाँचीको शितगंगामा गएको पहिरोमा परि आफ्नो घरबास गुमाउन पुगेका पिडितहरूको लागि आर्थिक सहयोग गरेको छ ।

अविरल बर्षा सँगै आएको पहिरोले शितगँगा नगरपालिकाका १२ नम्बर वडाका ३० घर पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् भने १९ घर परिवार पनि जोखिमको कारण विस्थापित भएका छन् । ति परिवारलाई केही मात्रामा भएतापनि चुुल्हो बाल्न सहयोग पुर्याउने उद्धेश्य सहित उक्त रकम संकलन गरिएको संस्थाले जनाएकोे छ । सम्पर्क मन्चका अध्यक्ष सुन्दर पन्थीको संयोजकत्वमा संकलित १ लाख ५५ हजार नेपाली रुपैया पीडितलाई हस्तान्तरण गरिएको मञ्चका प्रतिनिधि हिमाल खनालले बताए ।

उक्त रकम शितगँगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले पीडित पक्षलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी कार्यक्रममा वडाध्यक्षहरु दामोदर न्यौपाने, बाबुराम गैरे, माधव प्रसाद पौडेल, समितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार युवराज पाण्डे, निवर्तमान उपाध्यक्ष हेमराज पोखरेल, निवर्तमान सचिब तथा सल्लाहकार झविन्द्र बेल्बासे लगायत उपस्थित थिए । एकातर्फ कोरोना महामारी र त्यसको नियन्त्रण गर्न लगाइएको लकडाउनले समस्या पारिरहेको अवस्थामा मनसुन सँगैको पहिरोले शितगँगाका धेरै नागरिकहरुलाई प्रताडित बनाएको छ ।