माओवादीमा २१ सय केन्द्रीय सदस्य !

काठमाडौं–माओवादी केन्द्रले १५ सय सदस्यीय केन्द्रीय समितिमा ६ सय सदस्य थप्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निजी निवासमा बसेको केन्द्रीय कार्यालय बैठकले २१ सय सदस्यीय पार्टी केन्द्रीय समिति बनाउने समझदारी बनाएको हो । बैठकका सहभागी नेताहरूले २१ सय भनिए पनि केही घटबढ हुन सक्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरूले महाधिवेशन आयोजक समिति सदस्यको जिम्मेवारी बहन गर्ने जानकारी अध्यक्ष प्रचण्डले बैठकमा दिएका थिए । पुस २३ गते गर्ने भनिएको पार्टी महाधिवेशन अर्को मितिमा हुने गरी स्थगित हुने सम्भावना रहेको पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । ‘महाधिवेशन आम चुनावपछि गर्ने कि स्थानीय चुनाव र आम चुनावको बीचमा गर्ने भन्नेमा छलफल जारी छ,’ उनले भने ।

अर्का नेता शक्तिबहादुर बस्नेतले महाधिवेशन सार्नेबारे बैठकमा छलफल भएको बताए ।

केन्द्रीय समितिको बैठक आगामी भदौ ११ मा गर्ने जानकारी अध्यक्ष प्रचण्डको सचिवालयले दिएको छ । २१ सय सदस्य व्यवस्थापन गर्ने होटल, पार्टी प्यालेस नभेटेर माओवादीले भृकुटीमण्डपमा बैठक गर्ने निर्णय गरेको छ । यसअघि ११ सय केन्द्रीय सदस्य छँदासम्म माओवादीले बत्तीसपुतलीको एक पार्टी प्यालेसमा बैठक गरेको थियो ।