यिनै हुन मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई १६ लाख असुल्ने व्यक्ति

काठमाडौँ । नेपालीहरुको प्रमुख रोजगार गन्तब्यहरु मध्यैको एक मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई १६ लाख रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।
मलेसियामा टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने दुर्गाबहादुर श्रेष्ठले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा मलेसियामै काम गर्ने रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । रैदासलाई ७ दिनसम्म बन्धक बनाई उनकी श्रीमतीलाई फोन गरी हिमालयन बैंकको खातामा ६० हजार रिङ्गिट हालेमा मात्र श्रीमानको ज्यान रहने भन्दै दुर्गाबहादुरले धम्की दिएका थिए ।रैदासकी श्रीमतीले पटक(पटक गरी १५ लाख ९२ हजार आफ्नो खातामा हालिदिएपछि मात्रै दुर्गाबहादुरले अपहरणमुक्त गरेका थिए । उनले रैदासको राहदानीसमेत आफ्नो कब्जामा लिई उनलाई नेपाल आउन दिएका थिएनन् ।

पीडितकी श्रीमतीको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसैका आधारमा खोजतलास गर्दा उनलाई असोज १३ गते काठमाडौंको कान्ती बाल अस्पतालनजिकबाट बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए । साथै दुर्गाबहादुरले मलेसियामा काम गर्न गएका अन्य नेपाली कामदारलाई समेत धम्काई कुटपिट गरेको पनि खुल्न आएको प्रहरीले बताएको छ । अन्य व्यक्तिलाई समेत मध्म रैदासलाई गरेजस्तै अपराध गरेको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको एसपी पाण्डेले बताए ।