जाजरकोट, ५ वैशाख । जाजरकोटमा संक्रमणबाट शनिबार थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नायक बाडा गाविसका ६८ वर्षीय वीरे कार्की रहेका छन् । योसहित जाजरकोटमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । सरकारले प्रकोप नियन्त्रणका लागि पहल गरेपनि प्रकोप फैलने र मृत्यु हुनेक्रम रोकिएको छैन । सुरुमा प्रकोप देखिएको अर्छानी गाविसमा पुनः प्रकोप फैलिएको छ । गाविसका ९ ओटै वडामा प्रकोप फैलिएको स्थानीयले बताएका छन् ।
त्यस्तै, अन्य गाविसमासमेत प्रकोप फैलनेक्रममा रहेको छ । नियन्त्रणका लागि पर्याप्त औषधि र स्वास्थ्यकार्मीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । प्रकोप प्रभावित स्थलमा ५ जना चिकित्सकसहित करिब ३५ जना स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । जाजरकोटमा दैनिक बिरामीको संख्या बढिरहेको उपचारमा खटिएका स्वास्थ्यकर्मीले समेत बताएका छन् । उनीहरुका अनुसार दैनिक लगभग २ सय बिरामी शिविरसम्म आइपुग्छन् । नेपाली सेनाले पनि अस्थायी शिविर राखेर उपचार गरिरहेको छ । प्रभावित क्षेत्र धेरै विकट भएको र घरहरु छरिएकोले उपचारका लागि समस्या भइरहेको बताइएको छ ।
उता, जाजरकोटमा ‘स्वाइन् फ्लु’ भएको पुष्टि भएपछि छिमेकी जिल्ला दैलेखका सीमा क्षेत्रहरुमा उच्च सतर्कतासँगै चेकजाँच सुरु गरिएको छ । दैलेख प्रवेश गर्ने मुख्यद्धार रानीमतामा अहेवसहितको टोलीले भारतबाट आउने यात्रु र अन्य सबैलाई सचेतना अभियानसँगै बिरामीहरुलाई चेकजाँच सुरु गरेको हो ।
जाजरकोटमा मर्नेको संख्या २२ पुग्यो






