एमाओवादीले चीन भ्रमण प्रकरणबारे छानबिन गर्ने

UCPN-Maoist-flagकाठमाडौँ- एकीकृत नेकपा(माओवादी)ले भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमणमा पठाइएको विषयमा छानबिन गर्ने भएको छ ।

एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा नेताले भूकम्पपीडितका नाममा नेताका छोरी तथा नातिनीलाई भ्रमणमा पठाएको भन्दै सो प्रकरणले पार्टीको साख गिरेको भन्दै छानबिन गर्न माग गरेपछि सो निर्णय भएको हो ।

आजको बैठकमा एमाओवादी केन्द्रीय सदस्य हेमराज भण्डारीले चीन भ्रमण प्रकरणबारे पार्टीभित्र छानबिन हुनुपर्ने माग राख्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य गङ्गा कार्कीले पनि पार्टीभित्र बढेको स्वेच्छाचारितालाई अन्त्य गर्ने प्रतिबद्धताको माग गरेपछि चीन भ्रमण प्रकरणको छानबिन हुन लागेको हो ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडित क्षेत्रका व्यक्तिलाई चीन भ्रमणमा पठाउनु पर्नेमा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी र आफ्नी छोरीलाई चीन भ्रमणमा पठाएको भन्दै नेताले सो प्रकरण कुनै पनि हालतमा छानबिन हुनुपर्ने माग गरेपछि अध्यक्ष दाहालले सो प्रकरण छानबिन हुने विश्वास दिलाउनुभएको हो ।