काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो ।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
घटनाको जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् । घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे ।
अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।