- लालबहादुर गुरुङ
देश चुनावमय भइरहेको छ । जनताले लोकतन्त्रको सुन्दर अभ्यास गर्दैछन् । हामी घरदेश बाहिर रहेका लाखौं नागरिक नोट चल्ने भोट नचल्ने भएका छौं । हामी पनि गछौं देशको चिन्ता, हामीलाई पनि विकास र समृद्धिको चिन्ता, हामीलाई पनि हाम्रा सन्ततिको चिन्ता । घरदेशदेखि बाहिर रहेका लाखौं नेपालीले भोट हाल्न पाउने वातावरण भइदियोस् भन्ने हामी चाहन्छौं । यसपाली त भएन आउँदा निर्वाचनमा हामीले भाग लिन पाउने वातावरण मिलाउन सबै लागौं ।
जेहोस् देशमा मौन अवधि चलिरहेको छ । मौन अवधिलाई मनि अवधि पनि भनिन्छ । चुनाव देश, समृद्धि र सरकार निर्माणको विश्वकै सुन्दर लोकतान्त्रिक अभ्यास हो । जनताले आफ्नो सरकार आफैं बनाउने यो सुन्दर परिकल्पना हो, मत हाल्नु । त्यसैले यसपटक हामीले विवेक पुर्याएनौं भने देश ५ वर्ष पछाडि धकेलिने छ । म घरदेशमा रहेका मेरा आफन्त, परिवारजन र साथीभाइ सबैलाई मत दिएर नेतालाई विकास र समृद्धिका लागि पठाउने यो उत्सवमा विवेक प्रयोग गरेर मत हाल्न अनुरोध गर्छु । यो लोकतान्त्रिक अभ्यासलाई असफल बनाउन देशमा बमगोला र हिंसाजन्य कार्य पनि भइरहेको छ । कोही घाइते त कसैको ज्यान गइरहेको छ । यो जघन्य अपराध हो ।
हामीले बन्दुकबाट देश समृद्ध र विकासित हुँदैन भन्ने देखिसक्यौं । त्यसैले यस्तो बम बिस्फोटजस्ता जघन्य कार्यबाट मुक्त गर्न पनि असल र इमान्दार, देश र जनताको हित गर्ने उम्मेदवारलाई आफ्नो भोट दिउँ । सबै नराम्रा हुँदैनन् । नराम्रा छन् भने पनि नराम्रा नराम्राबाट छानेर राम्रो हुन अभिप्रेरित गरौं । देशका चुनाव शान्ति र सौहार्दपूर्ण वातावरणमा सम्पन्न होस् । हार्दिक शुभकामना व्यक्त गर्दछु ।
म देशको एक नेपाली, म देशको समृद्धि हेर्न पर्खेको एक नागरिक ।
– गुरुङ एनआरएन युकेका युवा संयोजक हुन् ।






