एनआरएनए यूकेले इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद् गठन गर्ने

लन्डन– गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले शाखा विस्तार गर्दै चार स्थानमा राज्य समन्वय परिषद् गठन गर्ने भएको छ ।

एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपानेका अनुसार इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने तयारी भएको छ । एनआरएन यूकेले राज्य तथा क्षेत्र समन्वय विभागको जिम्मेवारी उपाध्यक्ष ललित न्यौपानेलाई दिंदै काम अगाडि बढाउन निर्देशन दिएको थियो ।

एनआरएन यूकेको राज्य ,काउन्टी तथा क्षेत्र समितिहरु गठन प्रक्रिया अगाडि बढाउन राज्य समन्वय विभागसँग समन्वय गरी भेला आयोजना गर्न सम्पर्क प्रतिनिधिहरु समेत तोकिएको छ । जसअनुसार स्कटल्याण्डमा भोला खनाल, वेल्समा एकबहादुर गुरुङ, नर्दन आयरल्याण्डमा नारायण कँडेल र इंग्ल्याण्डमा दीपक श्रेष्ठ, दयानिधि सापकोटा, कमल पौडेल र प्रतिमा केसी प्रतिनिधि भएका छन् ।

यसै बीच एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले एनआरएनए यूकेलाई बेलायतका सबै नेपालीको घरदैलोमा पुर्‍याउन राज्य समन्वय परिषद् गठन गर्ने अवधारणा विकास गरिएको बताए ।