काठमाडौं– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमण दुई देशबीच कुनै सहमति सम्झौता गर्ने उद्देश्यले नभई दुइ देशबीचको सम्बन्ध विस्तारका लागि भएको दावी गरेका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले आफ्नो नेतृत्वको टोलीले अमेरिकामा भएको भेटघाटमा नेपालमा लगानी सम्मेलनमा सहभागिता जनाउन तथा गलैचा लगायतका निर्यातका वस्तुमा अमेरिकालाई सहयोग बढाउन अनुरोध गरेको जानकारी दिएका हुन् ।
त्यसक्रममा आफूले अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिएको मन्त्री ज्ञवालीले बताए ।
मन्त्री ज्ञवाली एक साता लामो अमेरिका भ्रमणबाट हालै स्वदेश फर्केका थिए ।
यो भ्रमण दुई दशकपछि नेपाल र अमेरिकाबीचको उच्चस्तरीय भेटवार्ता भएको बताउँदै उनले नेपाल र अमेरिकाबीच १९८३ यता उच्चस्तरको औपचारिक भ्रमण नभएको जिकिर गरे । उनले अब दुई देशबीचको भ्रमणले समेत निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको ज्ञवालीले प्रष्ट पारे ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले अमेरिकासँग सैनिक हतियार ल्याउने भन्ने समचारको खण्डन गर्दै आफू दुईपक्षीय सम्बन्ध विस्तारका लागि त्यहाँका विदेशमन्त्रीको निमन्त्रणामा अमेरिका गएको प्रष्ट पारेका थिए ।
तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गत पुष ३ गते भएको भेटमा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले आफ्नो ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ (हिन्द प्रशान्त रणनीति) मा नेपालको केन्द्रीय भूमिका हुने बताएका थिए ।
त्यसबेला अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता रोर्वट पल्लाडिनोले भनेका थिए ‘सेक्रेटरी पम्पेओले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भेटे’ दुबै नेताहरुबीच स्वतन्त्र, खुल्ला, समृद्ध इन्डो प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका, उत्तर कोरियासहित विश्वका प्रमुख मुद्दाहरुमा छलफल भयो ।’
यो भेटघाट र अमेरिकी भनाईलाई जानकारहरुले ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा नेपाललाई पनि सामेल गर्ने अमेरिकी चाहनालाई चीनलाई काउन्टर अमेरिका थप आक्रामक रुपमा आउन खोजेको भन्ने रुपमा अथ्र्याएका छन् ।
यो विषयबारे नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले स्थायी समितिको बैठकमा सरकारले प्रष्ट पार्नु पर्ने माग गरेका थिए ।






