काठमाडौं, ७ फागुन – प्रजातन्त्र दिवसको अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्रबाट लामो मौनता भंग गर्दै तत्कालीन राजनीतिक दलहरु र राजाबीच सहमति भएको र त्यसको इमान्दारितापूर्वक कार्यान्वयन नभएको भन्दै उतिबेला भएको सहमति कार्यान्वयन गर्न माग गरिएपछि राजनीति यो विषयले तरंगित हुन पुगेको छ । राजाको पछिल्लो अभिव्यक्तिलाई लिएर तत्कालीन राजनीतिक दल र राजावादी पक्षबीच जुहारी नै चल्ने देखिएको छ ।
११ बैशाख २०६३ मा राजा र राजनीतिक दलबीच कुनै सहमति नभएको एमालेका नेता भरतमोहन अधिकारीले दाबी गरेका छन् । उनले उतिबेला सहमति भएको भन्ने ज्ञानेन्द्रको दाबी निराधार भएको समेत बताए । ‘राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले राति गिरिजाबाबु निवासमा आएर हातले लेखेको ड्राफ्ट देखाउनुभयो । हामीले संशोधन गरेर पठाएको मस्यौदा जस्ताको तस्तै राजाले पढेका हुन् । राजको सम्पूर्ण वारेस लिएर आएका पशुपतिसँग हाम्रो अन्य कुनै सहमति भएको छैन,’ अधिकारीले राजाको भनाइको खण्डन गर्दै भने ।
त्यसैगरी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रतिनिधि भएर आफैं राजाकोमा गएको र कुनै पनि सहमति नगरिएको दाबी गरेका छन् । ‘उतिबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रतिनिधि भएर म आफैं नारायणहिटी गएको थिएँ’,सिटौलाले भने,‘मसँग मुख्यसचिव,गृह सामान्य प्रशासन सचिव हुनुहुन्थ्यो , पूर्वराजाका कर्मचारीहरु पनि थिए त्यहाँ । त्यतिबेला मैले उहाँसँग एक्लै ४५ मिनेट कुरा गरेको हुँ । त्यस्तो सहमति थियो भने ‘म दरबार छाडेर किन जाने’ भनेर त्यतिबेलै प्रश्न गर्नुपथ्र्यो नि त ? अहिले उहाँलाई उचाल्नेले उहाँकै कुभलो गर्छन् ।’
तत्कालीन राजाका एडिसी टिका धमला भने सहमति भएको दाबी गर्छन् । उनले राजाँसँग आन्दोलनरत सात दलको समझदारीकै आधारमा त्यतिबेला संसद् पुनस्थापना भएको भन्दै तत्कालीन राजनीतिक दलहरुले सहमति कार्यान्वयन नगरेर बेइमानी गरेको बताउँछन् । ‘२०४७ को संविधानअन्तर्गत नै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारमा गएर राजासँग सपथ खानुभएको हो । पूर्वराजासँगका सम्झौता कार्यान्वयन नगरेर दलहरु चुकेका छन्,’ धमलाले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पूर्व राजा ज्ञानेन्द्रले भने- म सँग भएकाे सहमति कार्यान्वयन गर
काठमाडाैं,। पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न राजनीतिक दलहरूसँग माग गरेका छन् । उनले बुधवार एक वक्तव्य जारी राजनीतिक दल र उनी बिच भएको सहमति स्मरण गराएका छन ।
तर, उनले जारी गरेको वक्तव्यमा राजनीतिक दलसँग के सहमति भएको थियो भन्ने चाहीँ खुलाएका छैनन् । फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै भनेका छन्- ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ ।’
उनले वक्तव्यमा उल्लेख गरेका छन्– ‘निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’

के थियाे सम्झाैता ? ८ वर्ष पछि किन सम्झिए ज्ञानेन्द्रले ?
तत्कालिन राजा ज्ञानेन्द्र शाहले ०५९ माघ १८ मा सत्ता हातमा लिएपछि राजनीतिक दलहरुको भूमिका निस्क्रिय जस्तै भएको थियो । त्यसबेला सत्ता राजनीतिको केन्द्रमा रहेका कांग्रेस र एमाले सहितका सात दलले राजाको कदम विरुद्ध ०६२ चैत्र २४ गतेबाट जनआन्दोलन सुरु गरेका थिए ।
आन्दोलन उत्कर्षमा पुगिरहेको बेला ०६३ साल बैसाख ८ गते ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरेका थिए । तर, आन्दोलन नरोकिएपछि बैसाख ११ गते उनले पुनः अर्को सम्बोधनमार्फत जनताको नासो जनतालाई फिर्ता गरेको भन्दै प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गरेका थिए । त्यसपछि आन्दोलन रोकिएको थियो ।
राजाले संसद पुनः स्थापनाको घोषणा गर्ने समयमा राजा र राजनीतिक दलबीच गोप्य सम्झौता भएको चर्चा चले पनि उनीहरु बीच के सम्झौता भएको थियो भन्ने बाहिर आएको थिएन ।
त्यसबेलासम्म माओवादीहरु पनि शान्ति प्रक्रियामा आइसकेका थिएनन् ।
तर, ६५ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले वक्तव्य नै प्रकाशन गरेर त्यसबेला राजनीतिक दलले आफूसँग सम्झौता गरेको पुष्टी गरेका छन् । ८ वर्षपछि त्यो पनि एमाओवादीहरु आन्दोलनको तयारी गरिरहेको बेला ज्ञानेन्द्रले त्यसबेलाको सम्झौता किन सम्झिए यो भने निकै रहस्यको विषय बनेको छ ।







