काठमाडौं, २२ चैत्र । पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली जाने भएकी छिन् । पूर्वयुवराज पारस शाह काठमाडौं आएको तीन दिनपछि उनी दिल्ली जान लागेकी हुन् । १९ चैतमा थाइल्यान्डबाट फर्केका पारससँग हिमानीले भेट गरेकी छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता दिल्ली जाने कार्यक्रम छ । उनको भ्रमणको चाँजोपाँजो मिलाउन हिमानी दिल्ली जान लागेको निर्मलनिवास स्रोतले जनाएको छ । दिल्लीमा यसपटक पूर्वरानी कोमल शाहको उपचारका लागि पूर्वराजपरिवारले केही समय खर्चिनेछ । ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमल्सिना पनि हिमानीका साथमा आइतबारै नयाँदिल्ली जाने कार्यक्रम छ ।
‘यसै साता पूर्वराजा पनि दिल्ली जानुहुन्छ, त्यसको चाँजोपाँजो मिलाउन पूर्वयुवराज्ञी दिल्ली जान लाग्नुभएको हो,’ निर्मलनिवास स्रोतले भन्यो । १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा घाइते भएकी पूर्वरानी कोमलको शरीरमा अझै बन्दुकको छर्रा रहेको र दिल्लीमा त्यसको उपचारसमेत हुने निकटस्थहरूले जानकारी दिएका छन् । नारायणहिटी दरबार छाड्ने दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रले कोमलको शरीरमा दरबारकाण्डका वेला लागेको गोली अझै बाँकी रहेको बताएका थिए ।
निर्मलनिवास स्रोतका अनुसार पूर्वराजपरिवार दिल्लीमा एक महिनाभन्दा बढी समय रहनेछ । त्यसका लागि दिल्लीमा अपार्टमेन्टसमेत लिइएको छ । भारत सरकारले उनको अपार्टमेन्टका लागि सुरक्षाको बन्दोबस्ती मिलाइदिएको छ । राजस्थानसमेत जाने कार्यक्रम बनाएका पूर्वराजाको नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, आरएसएसका अध्यक्ष मोहन भागवतलगायतसँग भेटवार्ता हुनसक्ने स्रोतले जनाएको छ । तर, यो भ्रमणबारे निर्मलनिवासले अहिलेसम्म केही विवरण सार्वजनिक गरेको छैन ।
हिमानीले भेटिनन् पारस
पूर्वयुवराज पारस १९ चैतमा स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमानी स्वागत गर्न गइनन् । जब कि अघिल्लो मंगलबार पारसलाई थाइल्यान्डको जेलबाट मुक्त गराउन त्यहाँको राजपरिवारसँग हिमानीले नै कुराकानी गरेकी थिइन् ।
हिमानीले जेलमै पारसलाई भेटेर स्वदेश फर्किन मनाएकी थिइन् । तर, स्वदेश फर्केपछि कुण्डलिनी हेल्थ क्लब चन्डोलमा बसेका पारससँग उनको भेट भएको छैन । उनले छोरा र दुई छोरीलाई भने पारस फर्केकै दिन साँझ भेट्न पठाएकी थिइन् । पारस र हिमानीसहित पूर्वराजपरिवारबीच निकटस्थमार्फत कुराकानी भइरहेको जनाइएको छ ।
पारसलाई नभेटी हिमानी दिल्लीतर्फ






