कामदारको सबै खर्च बेहोर्न आग्रह गरिने

काठमाडौं, २२ चैत्र ।  नेपालले कतारलाई नेपाली कामदारको सम्पूर्ण खर्च आफैँले बेहोर्न आग्रह गर्ने भएको छ । कतारका श्रम तथा समाज कल्याणमन्त्री अब्दुला विन सालिअ खुलासीले आइतबारबाट नेपाली पक्षसँग गर्ने वार्तामा नेपालले यसलाई प्रमुख एजेन्डाका रूपमा राखेको छ ।
मन्त्री अब्दुलाले नेपाली समकक्षी श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलगायत उच्च पदाधिकारीसँग कतारलाई चाहिने थप कामदार आपूर्तिबारेमा पनि छलफल गर्ने श्रम मन्त्रालयले जनाएको छ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले कतार सरकार पछिल्लो चरणमा नेपालबाट अर्धदक्ष कामदार लिन अभिरुचि देखाइरहेको बताए । ‘नेपालबाट जाने कामदारको सेवा शुल्क पनि कतारकै रोजगारदाताले उपलब्ध गराउन यसपटकको वार्ता फलदायी हुने विश्वास छ,’ श्रम राज्यमन्त्री गुरुङले भने, ‘कतारमा गएका नेपाली कामदारको पारिश्रमिक बढाउन पनि हाम्रोतर्फबाट आग्रह गरिनेछ ।’
कतार नेपालको मलेसियापछिको दोस्रो श्रम गन्तव्य हो । सरकारले कतार जाने कामदारका लागि म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजार रुपैयाँ मात्र लिन पाउने प्रावधान राखेको छ । यो म्यानपावर कम्पनीले पाउने सेवा तथा बजारीकरण खर्च मात्र हो । तर, व्यवहारमा म्यानपावर कम्पनीले योभन्दा दोब्बर रकम लिइरहेका छन् । करिब ५० प्रतिशत कामदारले मात्र २० हजार रुपैयाँको सीमामा कतारमा रोजगार गर्न पाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बाटाजुले सरकारले कतारी पक्षलाई मनाउन सक्दा सम्पूर्ण कामदारलाई शून्य खर्चमा पठाउन सकिने बताए । ‘म्यानपावर कम्पनीले सरकारले निर्धारण गरेको २० हजार रुपैयाँमा कतारमा कामदार सहजै पठाउन सकिन्छ,’ एसओएस म्यानपावरका प्रबन्ध सञ्चालकसमेत रहेका बाटाजुले भने । उनले सरकारी अनुगमन सबल नहुँदा कतारलगायतका श्रम गन्तव्यमा नेपाली कामदारले बढी रकम खर्च गर्नुपरेको जिकिर गरे ।
कतारमा करिब ५ लाख नेपाली कामदार रोजगार गरिरहेको अनुमान छ । श्रम राज्यमन्त्री गुरुङले वार्षिक ५० हजार नयाँ कामदार थप्न कतारी पक्ष तयार रहेको जानकारी दिए । ‘नेपाली कामदारको लगनशीलता र मिहिनेतका कारण कतारका रोजगारदाता प्रभावित भएकाले कामदार थप लिन कतारका श्रममन्त्री अब्दुलाले नेपालको भ्रमण गर्न लाग्नुभएको हो,’ उनले भने, ‘थपिने कामदार चाँडै सो मुलुक पुग्नेछन् । ’
कतारका श्रममन्त्री अब्दुलाले नेपाली कामदारको पारिश्रमिक बढाउने प्रतिबद्धता पनि नेपाल बसाइमा जनाउनेछन् । वैदेशिक रोजगार विभागका शाखा अधिकृत उपेन्द्र न्यौपानेले प्रतिनेपाली कामदारको पारिश्रमिक ८ देखि १० हजार रुपैयाँ प्रतिमहिना बढाउन पनि छलफल हुने बताए । ‘हाल निर्माण क्षेत्रमा नेपाली कामदारले प्रतिमहिना ३० हजार रुपैयाँ औसतमा पाइरहेकामा अब ४० हजार रुपैयाँ पुग्नेछ,’ उनले भने, ‘उनीहरू सस्तो लगानीमा नेपाली कामदार कतार ल्याउन चाहन्छन् ।’
स्रोत, साधनमा धनी मुलुक कतारले पछिल्लो समयमा पूर्वाधारको क्षेत्रमा अत्यधिक लगानी बढाइरहेको छ । सन् २०२२ हुने वल्र्डकपका लागि कतारले अत्यधिक लगानी गरिरहेको छ । यहीकारण सो मुलुकलाई अदक्ष र अर्धदक्ष कामदारको ठूलो माग छ ।
पछिल्लो समय कतारमा पनि नेपाली कामदारको माग बढ्न थालेको छ । कतारमा नेपाली कामदार पठाइरहेका स्काईका प्रबन्ध निर्देशक बलबहादुर तामाङले सरकारले कतारी सरकारमार्फत त्यहाँका रोजगारदातासँग समन्वय गर्न सकेमा मात्र शून्य खर्च सम्भव हुने बताए ।
‘२ वर्ष काम गरिसकेको व्यक्ति एउटा कम्पनीबाट अर्कामा जान चाहँदा पनि त्यहाँको सरकारले भिसा नदिने प्रावधान हटाउन पनि नेपाली पक्षले छलफलको एजेन्डा बनाउनुपर्छ,’ संघका पूर्वअध्यक्षसमेत रहेका तामाङले भने । उनले नेपाली कामदारलाई पारिश्रमिक नदिने त्यहाँका कम्पनीमाथि कारबाहीको आग्रह सरकारले गर्नुपर्ने बताए ।