लन्डन । एनआरएनए यूकेका पञ्जिकृत सदस्यको पहिलो नामावली सार्वजनिक गरिएको छ । आइतबार साँझ सार्वजनिक भएको नामावलीमा संघले १३ हजार ३ सय ५ सदस्य स्वीकृत भएको जनाएको छ । एनआरएनए यूकेको सदस्यताका लागि १३ हजार ८ सय ९० जनाले आवेदन दिएका थिए ।
संघका अनुसार, आवश्यक कागजात, तस्विर, शुल्कलगायत प्रक्रिया नपुगेका ५ सय ३८ सदस्यता स्वीकृत भएन । रित नपुगेका सदस्यलाई आवश्यक कागजात बुझाउन अगष्ट १३, अपरान्ह १ बजेसम्म समयसीमा तोकिएको छ ।
उक्त समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्नेको सदस्यता आवेदन स्वीकृत गरिने संघले जनाएको छ । १३ अगष्ट दिउसो ३ बजेसम्म नामावली सच्चाउने एवं थप कागजात बुझाउने, १४ अगष्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दावी विरोध र सोही दिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएनए यूके निर्वाचनका लागि उम्मेदवारी दर्ता अगष्ट १८ तारिख आइतबार हुनेछ ।
तपाईंको नाम छ कि छैन भनेर यो लिंकमा क्लिक गर्नुस् । https://nrnauk.org/our-members






