स्वास्थ्य विग्रिएपछि जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा, अब के हुन्छ ?

Shinzo Abe, Photo:CNN

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । लामो समयदेखी आन्द्राको समस्याबाट पीडित रहेका आबेले क्षमायाचना गर्दै राजीनामा बुझाएका हुन् ।
आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग माफी समेत मागेका छन्।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका राखेको कारण राजीनामा दिएका हुन् ।
यस अघि पनि २००७ मा उनले स्वास्थ्य समस्याकै कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए भने फेरी सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका छन् । आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन भने उनको पदावधि २०२१ सम्म छ।
उनलाई सानै उमेरदेखी नै आन्द्रा सुन्निने रोग रहेको छ भने एकै साता दुई चोटि अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बिग्रिन थालेको हो कि भनेर प्रश्न उठ्यो।
उनले आफू किन अस्पताल गएको हो भनेर बताएका छैनन्। तर एक चोटि आठ घण्टा अस्पतालमा बसेको विवरण प्राप्त भएको छ।
यसअघि सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएको दाबी गरेका थिए।
प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जापानी कानुनअनुसार कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन्। तर कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्ने सीमा तोकिएको छैन।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा छन्। त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा छन्।

कार्यवाहक प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्दैनन्। तर दलले नयाँ नेता र प्रधानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन्।

अब के हुन्छ?
प्रधानमन्त्रीले राजीनामा दिएसँगै सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदात गराउनुपर्छ। त्यसपछि संसद्मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन्छ। त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्ने बीबीसीले लेखेको छ ।