काठमाडौँ- कीर्तिमानी पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले उल्टो चालमा अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी नेपाल प्रहरीको झन्डा फहराउनु भएको छ ।
पण्डितले २५ घन्टा ४० मिनेटमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी सोमबार पहिलो पटक नेपाल प्रहरीको झन्डा फहराउनु भएको प्रहरी प्रधान कार्यालयको समाचार बुलेटिनमा उल्लेख छ ।
पण्डितले उक्त हिमाल उल्टो चालमा आरोहण गरिसकेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आफ्नो नाम उल्लेख हुने बताउनुभएको छ ।
कीर्तिमानी पर्वतारोही पण्डितले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला नेपाल प्रहरीले उत्कृष्ट सेवा गरेको भनी कदरस्वरुप किलिमन्जारोमा फहराउन प्रहरीको झन्डा लिएर जानुभएको थियो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत मङ्सिर २५ गते प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच पण्डितलाई नेपाल प्रहरीको झन्डा हस्तान्तरण गर्नुभएको थियो ।







