सोनी श्रेष्ठ । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिकास्थित ढुंखर्क क्वारेन्टाइनमा रहेकी २१ वर्षीय महिलाले आत्महत्या गरेकी छिन् ।
चलाल गणेशस्थान निवासी उक्त महिला साउन १६ गते दुबईबाट भारत ट्रान्जिट हुँदै नेपाल फर्की आएर विगत तीनदेखि क्वारेन्टाइनमा बस्दै आएकी महिला शुक्रबार दिउँसो मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी दिए । एक्लै बसेकी कारण डिप्रेशनले गर्दा आत्महत्या गरेको हुनसक्ने स्थानीय बताउँछन् ।
घटनाको विषयलाई लिएर स्थानीयले स्वास्थ्य चौकी तोड्फोड गरेका छन् भने प्रहरी र स्वास्थ्यकर्मीमाथि हातपात समेत भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका हुन् ।
आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् । स्थिती नियन्त्रणमा लिने प्रहरीको कोसीस जारी छ ।






