प्रकाश अर्याल
स्कटल्याण्ड ।
आबर्डिन शहर स्थित एक पबमा गएका युवाहरुबाट कोरोनाको संक्रमण फैलिएपछि स्कटल्याण्ड लकडाउन गरिएको छ । संक्रमण समुदायमा फैलन नसकोस भन्ने उद्धेश्यका साथ बन्दाबन्दी घोषणा गरिएको हो ।
आबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय नेपाली समुदाय अहिले कोरोना संक्रमणबाट सुरक्षित रहेका छन्। यहाँ क्रियाशील नेपाली संस्था अर्गनाइजेसन फोर नेप्लिज कल्चर एण्ड वेलफेयरका ट्रष्टी दिपेश रेग्मीले हालसम्म यस शहरमा कोही पनि नेपालीमा संक्रमण नदेखिएको बताए ।
यस अघि केही नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर ती सबैजना निको भइसकेको कारण हाल सक्रिय संक्रमित नेपाली नरहेको रेग्मीको भनाइ छ ।
स्थानीय पबहरुबाट फैलिएको संक्रमणको कारण हालसम्म सो क्षेत्रमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी संक्रमितहरुसंग सम्पर्क आएका ३१३ जनाको पत्ता लगाइ क्वारेन्टीनमा राखीएको एनएचएस ग्रामपियनले जनाएको छ।
संक्रमित हुनेहरुमा अधिकांस युवाहरु रहेका छन्। यस्तै पवमै गएका स्कटिस प्रिमियर खेल्ने क्लब आबर्डिन फुटबल क्लबका ८ खेलाडीमध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य ६ खेलाडीहरु आइसोलेशनमा रहेका छन्।
८ मुख्य खेलाडीहरुमा संक्रमणको आशंका गरिएको कारण आबर्डिन फुटबल क्लबले स्कटिस प्रिमियरशिपमा खेल्ने खेलहरु स्थगित गरेको छ।
गैरआवासीय नेपाली संघ एनआरएनए स्कटल्याण्ड सदस्य बिदुर खत्रीका अनुसार नेपाली समुदाय सचेत रहेकोले यस अघि पनि कोभिड १९ संक्रमण धेरै फैलन नपाएको भन्दै त्यसै अनुसारको सतर्कता अहिले पनि अपनाउन जरुरी रहेको बताए ।






