लन्डन– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल यूकेले शनिबार विविध लोक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम कार्यक्रममा नेपाली लोक भाका घन्किए । प्रत्यक्ष लोक दोहोरी देखि लाखे नाच, झ्याउरे नाच, तामाङ सेलो, सोरठी, च्याब्रुङ नाच, रोइला, कौडा नाच, भोजपुरी नाच लगायत आकर्षण रहे । नौमती बाजाको धुनले दर्शकको मन जितेको थियो ।
नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले प्रतिष्ठानले प्रवासमा समेत लोक गीत संगीत संरक्षण र संवद्र्धन गर्ने कार्य गरेकामा प्रशंसा गरे । संस्थाका अध्यक्ष मोहन गुरुङले बेलायतमा समेत लोक तथा दोहोरी गीतको संवद्र्धन, संरक्षण र उत्थानका लागि प्रतिष्ठानले पहल गरिरहेको बताए ।
कार्यक्रममा लोक गायक गायिका सम्झना लामिछाने मगर, कल्पना सिरपाल, मधुसुदन थापा, सृजना गुरुङ, सन्जय नेपाली र दिलीप लिम्बुले गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राई विशिष्ट अतिथी थिए भने गुल्मी जिल्ला समाज यूके अध्यक्ष राम गलामी, मोना यूके अध्यक्ष कमलबहादुर पूर्जा, गेसो अध्यक्ष कृष्णकुमार राई लगायत सयौं सहभागी थिए । कार्यक्रममा उपाध्यक्ष टंक शेरचनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।






