एसियन महिला एसोसिएसन र फस्ट गोर्खा आमा समूहले भब्य रुपले मनाए नारी दिवस (वुमन्स डे)

लन्डन- बेलायतमा एसियन महिला एसोसिएसन (आमा) र फस्ट गोर्खा आमा समूहले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नारी दिवस (वुमन्स डे) भव्य रूपमा मनाएका छन्।२ मार्च, आइतबार, अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा आयोजित भव्य समारोहमा विभिन्न कार्यक्रमसहित नारी दिवस मनाइएको हो।

कार्यक्रममा रसमुर बरो काउन्सिलकी मेयर मारा माकु नुरा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उनलाई एसियन महिला एसोसिएसन आमाकी अध्यक्ष कल्पना गुरुङ र फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङले स्वागत तथा सम्मान गरेका थिए।

कार्यक्रमको अध्यक्षता एसियन महिला एसोसिएसन आमाकी अध्यक्ष कल्पना गुरुङले गरिन्। उनले नारीहरूबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्दै नारी दिवस मनाउन पाउँदा खुशी लागेको बताइन्। साथै, उनले फस्ट गोर्खा आमा समूहका पदाधिकारी, सदस्यहरू, आमाको समिति, उपस्थित अतिथिहरू तथा सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गरिन्।

कार्यक्रमको सञ्चालन एसियन महिला एसोसिएसन आमाकी निवर्तमान अध्यक्ष विभा गुरुङले गरेकी थिइन्। फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै परदेशमा नेपाली नारी एकताको प्रतीकस्वरूप दुई संस्थाले संयुक्त रूपमा नारी दिवस मनाउन पाउँदा अत्यन्त खुशी लागेको बताइन्। साथै, कार्यक्रममा सहयोग गर्ने सबै व्यवसायी, समाजसेवी तथा सहभागीलाई धन्यवाद दिँदै महिला दिवसको शुभकामना व्यक्त गरिन्।

कार्यक्रममा प्रमुख अतिथि मेयर मारामाकुनुरा, नेपाली राष्ट्रिय खेलाडी सिर्जना सिंह ठकुरी, डा. जित तामाङ, अध्यक्ष माया केसी, पूर्वअध्यक्ष अमिता बेल्बासे, मगर संघ यूकेकी अध्यक्ष सीता पुन मगर, तमु धीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमु प्ये ल्हु संघ यूके आमा समूह अध्यक्ष बविता गुरुङ, गोर्खा समाज यूकेकी अध्यक्ष टकमाया गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेकी अध्यक्ष लीला सेलिङ माबो, बाग्लुङ समाज यूकेकी पूर्वअध्यक्ष छविमाया पुन, लगायत विभिन्न संस्थामा आबद्ध नेपाली नारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी दिदीबहिनीहरूका लागि एसियन महिला एसोसिएसन (आमा)ले प्रायोजननि:शुल्क नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरेको थियो।

आकर्षक नृत्य प्रस्तुति तथा राफल ड्र आयोजना गरिएको थियो, जसमा पहिलो पुरस्कार पोते नेकलेस थियो, जुन गोर्खा मेजर्नीकी विष्णुमाया तामाङले प्रायोजन गरेकी थिइन्। दोस्रो पुरस्कार चन्द्रमा गहना थियो, जसलाई लामा ज्वेलर्सले प्रायोजन गरेका थिए। त्यस्तै, व्यवसायी मनिकला राईले £२०० सहयोग गरेकी थिइन्।

बेलायतमा गरिने अन्य कार्यक्रमहरूभन्दा फरक, अत्यधिक भाषण तथा औपचारिकता नरहेको हुँदा समारोह थप मनोरञ्जनात्मक बनेको सहभागीहरूले बताएका छन्।