बेलायतबाट दाहालले गरे चाटर्ड एकाउन्टेन्टको अन्तरराष्ट्रिय संस्थामा उम्मेदवारी दिने घोषणा

लन्डन। चाटर्ड एकाउन्टेन्टहरुको अन्तरराष्ट्रिय संस्थामा कृष्णप्रसाद दाहालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बेलायतमा स्थापित चाटर्ड एकाउन्टेन्ट एवम वरिष्ठ लेखापरीक्षक कृष्णप्रसाद दाहाल संसारभरका प्रोफेसनल एकाउन्टेन्टहरुको प्रतिनिधिमुलक संस्था(एसिसीए) मा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विश्वभरका ७ लाख बढी प्रोफेसनल चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टहरु सदस्य रहेको यो संगठनमा सक्रिय सदस्यहरु मात्रै अहिले २ लाख २७ हजार छन् । संस्थाको विभिन्न देशका तर्फबाट आउँदो अक्टोबरमा काउन्सिल निर्वाचन हुँदैछ ।

दाहालले विश्वभरका प्रोफेसनल चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टहरु आबद्ध प्रतिष्ठित संस्थाको काउन्सिल मेम्बरका रुपमा संस्थालाई अझ बढि समावेशी, ग्लोबल र प्रभावशाली रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दाहाल नेपालका चार्टड एकाउन्टेन्टहरुको संस्था आइक्यानका पूर्व काउन्सिल मेम्बर समेत हुन् ।हाल उनी एसिसीएको ग्लोबल फोरम तथा लन्डन हयारो प्यानलका समेत सदस्य छन् ।उनले विगत १५ वर्षदेखि बेलायतमै रहेर काम गर्दै आएका छन् । लण्डनस्थित फोकस सोमर अडिट एण्ड ट्याक्स एकाउन्टेन्ट्स लिमिटेडमा दाहाल म्यानेजिङ पार्टनर हुन्। यसअघि सन् २०१८ को निर्वाचनमा उनले करिब १५ सय मत ल्याएर राम्रो प्रभाव छोड्न सफल भएका थिए ।

‘विकास र बिस्तारको ठूलो सम्भावना बोकेको यो ग्लोबल संस्थाको सदस्यको रुपमा म निकै गौरवान्वित छु । म सम्पूर्ण सदस्य प्रोफेसनल चार्टर्ड सर्टिफाईड एकाउन्टेन्टहरुलाई आव्हान गर्न चाहन्छु कि मलाई काउन्सिल मेम्बरमा निर्वाचित गरेर संस्थामा योगदान गर्ने मौका दिनुहोस्’ दाहालले अपील गरेका छन्, ‘संस्थाको ग्लोबल पहिचान, व्यवसायिक मुल्य, मान्यता, ग्लोबल विज्ञता, प्राविधिक सीप र च्यारिटी स्पिरिटलाई परिस्कृत गर्दै विश्वभर उत्कृष्ट व्यवसायिक शिक्षाको बिस्तार गर्ने अभियानमा म आफ्नो अनुभव र क्षमता लगानी गर्न चाहन्छु ।’

दाहालले विभिन्न ३ वटा मुल एजेण्डासहित आफूलाई सदस्य एकाउन्टेन्टहरुमाझ प्रस्तुत गरेका छन् । एसिसीएलाई विश्वका हरेक क्षेत्र र मुलुकमा ‘रिकगनाइज’ गराउन पहल गर्ने, एसिसीए शिक्षा र सदस्यताको लागि लाग्ने शुल्क ठाउं र त्यहांको आर्थिक क्षमताअनुसार समायोजन गराउने तथा विकासशिल देशहरुका क्षमतावान विद्यार्थीलाई प्रोत्साहन गर्न संस्थाबाट आवश्यक सहयोग गराउने लगायतका एजेण्डा दाहालले अघि सारेका छन् ।

आगामी अक्टोबर १ तारिख खुला हुने अनलाइन मतदान नोभेम्बर १२ तारिखमा बन्द हुनेछ ।एसिसीएको काउन्सिल निर्वाचनमा संस्थाका सबै मुलुकका सदस्यहरुले अनलाइनबाटै मत दिन सक्नेछन् ।