लन्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिकहरूका अध्यागमन सम्बन्धी समस्याहरुबारे लाईभ अन्तरक्रिया हुने भएको छ।
बेलायत स्थित तीन ओटा अनलाइन पोर्टलहरुको सहकार्यमा हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारसंग सम्बन्धित अध्यागमन सम्बन्धी समस्याहरुबारे छलफल हुन लागेको हो ।
यही आइतबार, जुलाइ ५ तारिखका दिन आयोजना गरिन लागेको उक्त छलफलमा ब्रिटेनका चार जना वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, म्याथ्यु मोरियार्टी, किलीन म्याक्कार्थी, ड्यारिल बलरुप, एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा तथा सोहि फर्मसंग आवद्ध सोलिसिटर सैयद इमरान अलिले भाग लिने छन्।
कार्यक्रम युके समय अनुसार १२१५ बजे, नेपालमा अपरान्ह ५ बजे र हंगकंग, ब्रुनाइ तथा सिंगापुरमा बेलुका ७ बजे सुन्न/हेर्न सकिने छ। www.londonnepalnews.com, www.nepalilink.com र www.globalnepalese.com का फेसबुक पेजहरुमा उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने छ।
“अहिले कोरोना संकटका कारण धेरै भूतपूर्व गोर्खा सैनिकहरुका अध्यागमनसंग सम्बन्धित मुद्दाहरुका सुनुवाइहरु पर सारिएका छन्। यस्तो अवस्थामा कसरी सुनुवाइ भै रहेको छ र ३० वर्ष नाघेका आफ्ना सन्तानहरु बेलायत ल्याउन चाहने बाबाआमाहरुले के कस्तो तयारी गर्नु पर्छ लगायतका जानकारी दिन सो अन्तरक्रिया उपयोगी हुने हामीले ठानेका छौं,” एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले भने।
सन् २०१५ मा ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकका ३० वर्ष मुनिका सन्तान आफ्ना बाबाआमासंग बेलायत आउन पाउने नियम ल्याएता पनि अपिल गरेर ३० वर्ष माथिका सन्तान पनि बेलायत आउन सफल भएका छन्।






