संसद अधिवेशन अन्त्य गरेर नेकपाका नेताहरु गुटगत भेलामा सक्रिय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादले नयाँ रुप लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो ।

पार्टीको स्थानीय समिति बैठक चलिरहेकै बेलामा नेताहरु गुटगत भेलामा सक्रिय थिए । हिजो बुधबार झम्सीखेल बैठकमा प्रचण्ड समूहको बैठक बसेर प्रधानमन्त्रीलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब तयारी भइरहेको थियो ।

संसदमा अविश्वासको प्रस्ताव आउने सम्भावनालाई टार्न प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएको बताइन्छ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्यसँग पदबाट हट्नुपर्ने एउटा खड्को टरेको बताइन्छ ।