मञ्जु भण्डारी
लन्डन । श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमाको अवसरमा लण्डनको प्लमस्टिडमा रहेको पशुपति मन्दिरमा पुजाआजा तथा सामुहिक (जनै) धारण र रक्षाबन्धन (डोरो) बाँधी मनाइएको छ ।
अध्यक्ष नरेन्द्र कंडेलका अनुसार कोरोना भाइरसको महामारी लाइ मध्यनजर गरी सामाजिक दुरी कायम गर्दै रक्षाबन्धन पर्ब मनाइएको हो । विहानैबाट श्रद्धालुहरुको उपस्थिती रहेकोे उक्त रक्षाबन्धन तथा शुभकामना आदानप्रदान कार्यक्रममा एक तर्फी लाइन खडा गरिएको थियो भने हरेकले स्वास्थ्य सुरक्षा विधि अपनाएका थिए ।
स्थानीय पुजारीहरुबाट रुद्राभिषेकका साथै सप्तऋषि पूजा, तन्तु पूजा र मन्त्रोच्चारण सहित जनैमन्त्रण सँगै पुजाआजा गरिएको थियो । बिहान ८ देखि दिउंसो २ बजेसम्म उपस्थित भक्तालुहरुले रक्षाबन्धन गरेका थिए । पन्डितहरु ज्योतिष निलहरि घिमिरे र विनोद पन्थीले पूजा तथा रक्षाबन्धन संचालन गराएका थिए भने हरि ओझा कर्ता बसेका थिए ।
मन्दिरका अध्यक्ष नरेन्द्र कंडेलले रक्षाबन्धन कार्यक्रममा सहभागी सहित पण्डितहरु र सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्दै सुरक्षा विधि अपनाइ सौहार्दपुर्ण वातावरण रक्षाबन्धन तथा पुजापाठ सम्पन्न भएको लन्डन नेपाल न्यूज संगको सम्बादमा बताए ।
कोरोनाका कारण तिज प्रभावित हुने-
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण अब आउँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा पनि सामाजिक दुरी कायम गरी पुजा आजा हुने जानकारी दिए । गत बर्षको जस्तो एसियन कम्युनिटी हलमा कार्यक्रम नगरीने तर मन्दिरमा जम्मा भइ पुजा आजाका कार्यक्रम सञ्चालन हुने पनि उनले जानकारी दिए । तीजको दिन गुरुको मुखारबृन्दबाट प्रवचन कार्यक्रमको आयोजना गरिने छ । तर कोरोना महामारीको कारण नाँचगानको कार्यक्रम चाही नहुने उनले बताए ।






