मधेस आन्दोलन र नाकाबन्दीबारे सत्तारुढ र विपक्षीले साझा धारणा बनाउने

KP-Oliकाठमाडौँ- मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीबारे संसद्मा प्रतिनिधित्व गर्ने दलको साझा धारणा बनाउने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको छ ।

बैठकमा आन्दोलनरत मधेसकेन्द्रित दलबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य सबै दलको उपस्थिति रहेको थियो ।

बैठकपछि राप्रपा (नेपाल)का अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मधेसमा जारी आन्दोलन र संविधान संशोधनका विषय, आपूर्ति व्यवस्थामा देखिएको असहजता, भारतबाट आपूर्ति र पारवहनमा भइरहेको अवरोधका विषयमा प्रधानमन्त्रीले सबै दलको साझा धारणा बनाएर जान प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा धारणा राख्दै विभिन्न दलका नेताले पनि यो समस्या कुनै पार्टीको, सत्तापक्ष वा प्रतिपक्षीको मात्रै नभएर मुलुककै साझा समस्या भएकाले यसमा साझा धारणा बनाएर जानुपर्नेमा सहमत हुनुभयो ।”

उहाँले संसदमा रहेका प्रमुख दलका शीर्ष नेतासँग फेरि बसेर थप छलफल गर्ने जानकारी दिनुभयो । विषयमा छलफल भएपनि साझा धारणा भने नबनेको उहाँको भनाइ थियो ।

एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा देशको परिस्थिति गम्भीर, जटिल बन्दै गएकोमा सबै दलको एकमत रहेको बताउनुभयो ।

अहिलेको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएर एकताबद्ध भएर समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै दलबीच समान मत रहेको पनि उहाँले जानकारी दिनुभयो ।