एमाओवादीलाई संविधानसभा घाँडो

बागलुङ, २३ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा(माओवादी)लाई संविधानसभा घाँडो भएको बताउनुभएको छ । एमाले बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमाओवादी संविधानसभा भङ्ग भए होस् भन्ने पक्षमा रहेको आरोप लगाउनुभयो । संविधान नचाहने र संविधानसभाकै विरोध गर्ने शक्तिसँग मिलेर मोर्चाबन्दी गर्नाले एमाओवादीको नियत स्पष्ट पारेको टिप्पणी गर्दै नेता पोखरेलले भन्नुभयो, “‘एमाओवादीले आफूले चाहेजस्तो संविधान ल्याउन खोजेको थियो, तर त्यो सम्भव थिएन र कहिले पनि हुँदैन । जनादेशअनुसार अहिलेकै संविधानसभाले नयाँ संविधान दिने जिकिर गर्दै उहाँले संविधान निर्माणका लागि शतप्रतिशत सहमति हुनै सक्दैन भन्नुभयो । “संविधान सहमतिको नभएर सम्झौताको दस्तावेज हो, संविधानसभामा भएका शक्तिबीचको सम्झौताका आधारमा संविधान जारी हुन्छ” महासचिव पोखरेलले भन्नुभयो ।
पूर्वउपप्रधानमन्त्री पोखरेलले सङ्घीयतामा जाँदा तराई र पहाडलाई छुट्टयाउने गरी डरलाग्दो आपराधिक योजना बनाइएको विचार व्यक्त गर्दै संविधानसभामा सुरु भएको प्रक्रिया अघि बढाएर संविधान निर्माणको कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।