पर्यटन प्रवर्धनका लागि बेलायतका लागि नेपाली राजदुत डा. सुवेदी माल्टा भ्रमणमा

माल्टा । भिजिट नेपाल २०२० को प्रवर्धनका लागि बेलायतका लागि नेपाली राजदुत तथा माल्टाका लागि गैरआवासीय राजदुत डा. दुर्गा बहादुर सुबेदी माल्टा भ्रमणमा छन् । राजदुत डा. सुवेदीसँग द्वितिय सचिव लव सुबेदी पनि भ्रमण रहेका छन् । माल्टाको राजधानी भालेटामा बुधबार १५ तारिखका दिन भिजिट नेपाल २०२० को अफिसियल उद्घाटन हुँदैछ ।

गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड र दुताबासको समन्वयमा विधिवतरुपमा उद्घाटन हुने भएको हो । उद्घाटन कार्यक्रममा स्थानीय मेयर, काउन्सिलर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने गैरआवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा एनआरएनए आइसीसी भिजिट नेपाल २०२० विशेष टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए ।

माल्टाको एक स्थानीय ट्रान्सपोर्टको समन्वयमा ‘भिजिट नेपाल २०२०’ प्रचार प्रसार तथा प्रवद्र्धन हुने गरी यातायातहरुमा पोस्टर टास्ने कार्य सम्पन्न भएको छ । विश्वकै अग्लो शिखर सगरमाथाको तस्बिर र बुद्ध भूमिको प्रतिक बुद्धको तस्बीरसंगै विभिन्न नेपाली सांस्कृतिक पहिरन झल्किने ठुला पोष्टरहरु गाडीमा टाँसेर प्रसारप्रसारलाई ब्यापक बनाइएको एनआरएनए आईसीसी भिजिट नेपाल २०२० स्पेशियल टाक्सफोर्सका अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए ।

यस्तो कार्यक्रमले भिजिट नेपाल २०२० को लागि निकै राम्रो टेवा पुग्ने बिश्वास समेत सापकोटाले व्यक्त गरे । राजदूत डा. सुवेदीले बुधबार माल्टाका सभामुखसँग भेटघाट कार्यक्रम रहेको छ । माल्टाका स्थानीय मेयर र काउन्सिलरसंग भेटघाट तथा छलफल रहेको छ भने माल्टाका परराष्ट्रमन्त्रीसँग भेटघाट हुने कार्यक्रम तय भएको छ ।

भेटघाट कार्यक्रमको बिचमा गोल्डेन एभरेष्ट ग्रुपद्वारा पहिलो नेपाली सुपरमार्केटको उद्घाटन कार्यक्रम हुनेछ । त्यसैगरी एभरेष्टले नै लन्च गरेको गोल्डेन बियरको समेत उद्घाटन हुने कार्यक्रम रहेको छ । भोलि बिहीबार माल्टास्थित विभिन्न नेपाली संघसंस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने माल्टाका प्रधानमन्त्रीसंग पनि भेटघाट कार्यक्रम रहेको छ ।

१७ तारिखका दिन अन्य कुटनीतिक निकायसँग समेत भेटघाट हुने र भिजिट नेपाल २०२० को लागि अफिसियल निमन्त्रणा हुने जनाइएको छ । विभिन्न भेटघाटपछि माल्टाका लागि काउन्सिल सेवा समेत प्रदान गरिने भएको छ ।

१८ तारिखमा राजदुतसहितको भ्रमण टोली फर्किने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रममा दुई देश बीचको मैत्री सम्बन्ध बारे र भिजिट नेपाल २०२० कार्यक्रमको लक्ष्य र उदेश्य बारे बिशेष जानकारी मुलक छलफल हुने सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *