तक्दीर अधिकारी
सिड्नी । थारू समुदायको सिड्नीमा माघी मेला भव्य हुने बताइएको छ । थारु समुदायले सिड्नीमा माघी पर्व मनाउन लागेको यो दोस्रो पटक हो । विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी माघी पर्व मनाइने थारु सोसाइटी सिड्नीका जनसम्पर्क अधिकृत अरुणआर्यन चौधरीले जानकारी दिए । उनका अनुसार माघी पर्व जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते) मनाइने छ ।
थारू सोसाइटी सिड्नी अस्ट्रेलियाको आयोजनामा माघी पर्व मनाइने तयारी भएको जनसम्पर्क अधिकृत चौधरीले बताए । उनका अनुसार न्यु साउथ वेल्स (एनएसडब्लु) को टेम्पेपार्कमा जनवरी १५ मा माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारसमेत राखिने छ । गत वर्ष संस्थाका अध्यक्ष दीपनारायण चौधरीको अध्यक्षतामा माघी पर्व भव्यताका साथ सम्पन्न भएको थियो ।

थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्ववलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको जनसम्पर्क अधिकृत चौधरीले बताए । पुस महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड हो । २४ औं विश्व आदिवासी दिबसको अवसर पारेर ९ अगस्ट ,२०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाईटी सिडनी अष्ट्रेलिया गठन भएको हो ।







