तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा सञ्चालित ‘गो फन्ट मि’ अभियानबाट संकलन भएको एक लाख रुपैयाँ राष्ट्रिय अविष्कार केन्द्रलाई उपलब्ध गराइने भएको छ । विनर सर्कल मिडियाले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीमाँझ ‘गो फन्ट मि’ अभियान सञ्चालन गरेको हो । विनर सर्कल मिडियाका संस्थापक रोशन खतिवडाले दिएको जानकारी अनुसार नयाँ वर्ष २०२० को अवसरमा बारबिक्यु आयोजना गरी फन्ट संकलन गरिएको थियो । उक्त बारबिक्युमा पाँच दर्जनभन्दा बढी युवाहरु सहभागी भएका थिए ।’
अवन पार्कमा आयोजित उक्त बारबिक्युमा संकलन भएको रकम महाबीर पुन संयोजक रहेको राष्ट्रिय अविष्कार केन्द्रलाई हस्तान्तरण गरिने छ । संस्थापक खतिवडाका अनुसार ‘सहयोगका लागि सबैसँग आह्वान गरिएको थियो, हामीले १२ सय ६० डलर संकलन गर्ने लक्ष्य राखिएका थियौं । ९५ प्रतिशत डोनेशन विद्यार्थीबाटै जम्मा भएको थियो । यो अभियानमा ६८ जनाले सहयोग उपलब्ध गराएका छन् ।’
राष्ट्रिय अविष्कार केन्द्रको खातामा आउँदो सोमबारसम्म रकम पुग्ने जानकारी खतिवडाले दिए । बारबाक्युमा गैरआवासीय नेपाली संघ न्यू साउथ वेल्स (एनएसडब्लु) को सहसचिव तीर्थराज कार्की, पूर्वयुवा संयोजक विजय पौडेल, पोखरा समाज अस्ट्रेलियाका महासचिव समित केसी, भिजन फर मोटिभेसन (भीएफएम) का जनसम्पर्क अधिकृत महेश ढुंगानालगायतको उपस्थिति थियो । सांगीतिक माहोलमा सम्पन्न कार्यक्रम बिहान ११ बजेबाट सुरु भएर साँझ ५ बजे सम्पन्न भएको थियो ।

विनर सर्कल मिडियाले यसभन्दा अघि टिच फर नेपाल भन्ने च्यारिटी संस्थालाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । ग्रामीण क्षेत्रको शिक्षामा काम गरिरहेको उक्त संस्थालाई सहयोग पुगोस् भनेर सहयोग उपलब्ध गराएको संस्थापक खतिवडाले जानकारी दिए ।
उनले भने, हामी ‘शिक्षा, सिकाइ र सिर्जनाका लागि सहयोग उपलब्ध गराउँछौं । यी तीनवटा कुरामा लगानी गर्न सकियो भने समृद्ध नेपालको सपना छिट्टै साकार हुन्छ । विनर सर्कल मिडियाले सन् २०१८ जुलाई १५ देखि यस्ता सहयोग उपलब्ध गराउन थालेको हो ।
शिक्षा, सिकाइ र सिर्जनाका क्षेत्रमा सहयोग उपलब्ध गराउने विनर सर्कल मिडियालाई सहयोग र समर्थन संस्थापक खतिवडाले अनुरोध गरे ।






