काठमाडौं- प्रा।डा गोविन्द केसीले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न लगाइएको रोक नहटाए आफुले तोड्ने चेतावनी दिएका छन् ।
उनले टिल र प्रतिगामी निर्णय भएको भन्दै तत्काल सच्याउन पनि सरकारसँग माग गरेका छन् ।
निर्णय नसच्चाए माइतीघरको निषेधाज्ञा तोड्नु आफ्नो कर्तव्य हुने उनको भनाई छ ।
अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारी हस्तक्षेपविरुद्ध निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने उनको भनाई छ ।
‘यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउन आमनागरिकको कुनै भूमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनुनपर्ने र प्रदर्शन गरे दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आफ्नो कर्तव्य सम्झन्छौं ।’उनले विज्ञप्तीमा भनेका छन् ।
त्यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त निर्णयले शान्तिपूर्णरुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी अथर््याएको साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
“पछिल्ला समयमा कयौं भद्र आन्दोलनको प्रतिक बनेको माइतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्ने गरिआएको यस निर्णयलाई अविलम्ब फिर्ता लिन हामी सरकार समक्ष जोडदार माग गर्दछौं” सो पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हकको विरुद्ध हुने गरी उक्त निर्णय आएको भन्दै साझा पार्टीले निर्णयबाट सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोध अपनाउनेलाई चिन्तित समेत तुल्याएको जनाएको छ ।






