आचार्य समूहले यसरी जित्दैछ एनआरएनएको चुनाव

तक्दिर अधिकारी
काठमाडौं । सहमतिमा नेतृत्व चयन गर्ने हुने अनुमान विपरित गैरआवासीय नेपाली संघको आज हुने निर्वाचनमा दुई पक्षबीच भिड्न्त हुने भएको छ । यो दुई समूहलाई लोकतान्त्रिक र वामपन्थी गठबन्धन नाम दिएको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व कुल आचार्यले गरेका छन् भने वामपन्थी समूहबाट कुमार पन्तलाई अगाडि सारिएको छ ।

आचार्य समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ । महासचिवमा बेल्जियमकी जानकी गुरुङलाई अघि सारिएको छ । गुरुङ वर्तमान कार्यसमितिको सचिव हुन् । कोषाध्यक्षमा सोम सापकोटालाई अघि बढाइएको छ । महिला उपाध्यक्षलगायत अन्य पदमा भने आचार्य समूहले अरुलाई सहयोग गर्ने बताएको छ ।

यता, वामपन्थी समूहबाट नेतृत्व गरिरहेका पन्त समूहबाट डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् । महिला उपाध्यक्षमा पन्त समूहले सपिला राजभण्डारीलाई नै अघि सार्ने भएको छ । महासचिवमा बेलायतकै डा. हेमराज शर्मालाई पन्त समूहले अघि सारेको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठलाई अघि सारिएको छ ।

अध्यक्षका प्रत्यासी पन्तले लोकतान्त्रिक भन्न रुचाउने केही उपाध्यक्षका उम्मेदवार थुतेर आफूलाई बलियो साबित गर्न खोजेको देखिन्छ । तर लोकतान्त्रिक समूहले यसलाई आफ्नो प्रतिष्ठा ठानेकाले वामपन्थी समूहलाई लोकतान्त्रिक मत नजाने हिजोको माहोलमा स्पष्ट देखियो ।
यो सम्मेलनमा २५ सयको हाराहारीमा मतदाता छन् । त्यसमध्ये १६ सय मत लोकतान्त्रिक पक्षको छ । त्यसो त वामपन्थी धार पनि तीन समूहमा विभाजित छ । त्यसैले वामपन्थी सबै मत पन्त समूहलाई जाँदैन । माओवादीबाट नेकपा बनेका समूह, केपी ओली र माधव नेपाल समूहमा विभाजित छन् । पन्तलाई ओली पक्षले रुचाए पनि अन्य दुईवटा समूह खुशी छैनन्, त्यसले उनीहरुले लोकतान्त्रिक समूहलाई सहयोग गर्ने देखिन्छ ।

बहुमत पूर्वअध्यक्षहरु पनि आचार्य समूहमै देखिएका छन् । संस्थापन अध्यक्ष चुनावी उद्घाटन समारोहबाट बाहिरिएका छन् भने वर्तमान अध्यक्ष भवन भट्ट, शेष घले र देवमान हिराचन खुलेर आचार्यको पक्षमा देखिएका छन् । जीवा लामिछाने एक्लैले पन्तलाई बोकेर हिडेका छन् । सहमतिमै पन्तलाई अध्यक्ष बनाउने रणनीतिमा लागेका लामिछाने अन्ततः असफल भएपछि चुनावी मैदान छाडेर हिड्ने तयारीमा रहेको बुझिएको छ ।

यसअर्थ उम्मेदवार मनोनयपछि हिजोको माहोलमा कुनै परिवर्तन भएन भने आचार्य समूहको जित लगभग निश्चित जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *