काठमाडौं । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आउँदै हुनुहुन्छ भने तपाईको उडान प्रभावित भएको हुनसक्छ । आज शनिबार र भोलि आइतबारको तपाईको उडान तालिका छ भने एकपटक नेपाल नागरिक उड्डयन प्राधिकरणको वेभसाइट हेरेर उडान गर्दा राम्रो हुनेछ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ ।
भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गरी जानकारी दिएको छ । आज अपराह्न १४:५५ देखि १७:५५ बजेसम्मका उडान प्रभावित हुने छन् ।
शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् । विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।
त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आइतबार बिहान ११:२० देखि १३:५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।







