नेपाली दूतावासमा दशैं समारोह, घरघरमै सेवा पुराउने दूतावासको लक्ष(फोटो फिचर)

लन्डन । नेपाली दूतावास लन्डनको आयोजनामा दशैं शुभकामना कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले दूतावासले राहदानी लगायतका सेवा आधा घण्टा भित्रै दिने व्यवस्था मिलाएको र घर घरमै भिसा उपलब्ध गराइरहेको जानकारी दिएका छन् ।
दशैं लगायतका चाडहरुको अवसरमा लन्डनस्थित नेपाली दूतावासले दूतावास परिसर मै शनिवार दिउसो आयोजना गरेको एक स्वागत समारोहलाई सम्बोधन गर्दै राजदूत सुवेदीले निकट भविस्यमै दूतावासले बेल्फास्ट, स्विन्डन, डब्लिन, ग्लासगो लगायतका शहरहरुमा गएर नेपालीहरुका घरघरमै सेवा पुराउने लक्ष लिएको बताए।
उनले आउंदो वर्ष २०२० मे महिनामा इंगल्याण्ड फुटबल एसोसियसन तथा सहारा युकेको संयोजनमा लन्डनमा इंगल्याण्डको राष्ट्रिय फुटबल टोली तथा नेपालको राष्ट्रिय फुटबल टोलीबीच ऐतिहासिक खेल हुने निर्णय भएको पनि जानकारी दिए ।
राजदूत सुवेदीले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आउंदो वर्ष बेलायतबाट कम्तिमा एक लाख पर्यटकहरु नेपाल पठाउने गरी काम भै रहेको जानकारी पनि गराए। उनले दशैं, तिहार, म्ह पूजा, नेपाल संवत, छठ तथा ल्होसारको अवसरमा सबै नेपालीहरुलाई शुभकामना पनि दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व परराष्ट्र मंत्री डा. भेषबहादुर थापाले नेपालीहरुले संसारभरि गरेको प्रगतिबाट आफु अत्यन्त हर्षित भएको पनि बताएका थिए ।
उनले नेपालमा छोटो समयमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएको तर त्यस अनुसार आर्थिक प्रगति हुन नसकेको बताए। “राजनीतिक काँचुली मात्रैले समृद्धि हुंदैन, आर्थिक र सामाजिक काँचुली फेर्न बांकी नै छ,” उनले भने। कार्यक्रममा कोसेली संस्कृतिक परिवारले विभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो। । कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट सैयौंको संख्यामा नेपालीहरु तथा केही ब्रिटिश पाहुनाहरु पनि उपस्थित थिए। कार्यक्रममा दिवा भोजको पनि व्यवस्था गरिएको थियो
कार्यक्रममा डा. रिता थापा, गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्मा, नेपालकी राष्ट्रपतिका विज्ञ सल्लाहकार माधव शर्मा, मेची नगर नगरपालिकाका मेयर बिमल आचार्य, एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पूनम गुरुङ, बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, पूर्व काउन्सिलर धन गुरुङ लगायतको उपस्थिति थियो ।
समारोहमा एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पूनम गुरुङसहित कार्यसमितिका सदस्य, पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सम्मान गरिएको थियो।कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *