लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन यूके)को सचिव पदमा युवा व्यवसायी विष्णु खरेल चुनावी
मैदानमा उत्रिएका छन् ।
आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनमा सचिव पदमा खरेल बलियो उम्मेदवारका रुपमा देखिएका छन्। खरेल गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार शेर सुनारको पक्षमा उभिएका हुन् ।
बेलायतको नेपाली समुदायमा राम्रोसंग भिजेका, अधिकांश संघसंस्थाका च्यारिटी कार्यक्रमहरुमा सहभागी बन्दै आएका र युवाहरुमाझ गतिलो पकड बनाएका खरेल बलियो देखिएका हुन् । बेलायतस्थित नेपाली समुदायका अगुवा, सहकर्मी एवम् एनआरएन अभियन्ताहरुकै सल्लाहमा आफुले सचिव पदमा उम्मेदवारी दिएको खरेल बताउँछन् ।

एनआरएन यूके कार्यसमितिले ल्याउने योजनाहरुमा सक्दो योगदान गर्ने उनको अठोट छ । नागरिकता, गोर्खाहरुको समस्या, नेपाल हाउसप्रोजेक्ट, राज्य एवम् क्षेत्रीय समिति बिस्तार लगायतका एनआरएन मुद्धाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।एनआरएन यूकेको सदस्यता वितरण र निर्वाचन प्रणालीलाई अनलाइन बनाउन सक्दो पहल गर्ने खरेलको प्रतिबद्धता छ ।
एनआरएनए यूकेमा लामो समयदेखि आबद्ध रहंदै आएका खरेल अहिले पहिलोपटक कार्यसमितिमै बसेर काम गर्ने योजनासहित आएका छन् ।उनि बेलायतस्थित विभिन्न संघसंस्थाहरुको माध्यमबाट च्यारिटी तथा समाजसेवाका काममा निरन्तर रुपमा संलग्न रहंदै आएका छन् । एनआरएन यूकेको आउँदो कार्यसमितिको सचिव ( खुला) मा २ ठाउँको लागि अहिले ४ उम्मेदवार मैदानमा छन् ।






