लन्डन । बेलायतका सांसदहरुले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्ने विधेयक अगाडि बढाउने पक्षमा मतदान गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का दिने प्रस्ताव संसदमा अघि बढेको हो ।
सो प्रस्तावको पक्षमा विपक्षी तथा सत्तारुढ कन्जरभेटिभ पार्टीकै बागी सांसदहरुले नै मतदान गरेका छन् । संसदमा भएको मतदानमा संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने विधेयक अघि बढाउने पक्षमा ३२८ मत परेको हो ।
सरकारको पक्षमा भने ३०१ मत परेको छ । प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन् । उनले अक्टोबर १५ तारिखमा आमचुनाव गराउने तयारी गरेका छन् । प्रधानमन्त्री जोनसनले संसद्मा बहुमत पनि गुमाएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्रेट्समा गएपछि उनले संसद्मा बहुमत गुमाएका हुन । योसँगै ६५० सदस्यीय बेलायती संसद्मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्रेटिक युनियन पार्टीको १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ । विपक्षी दलसँग ३२० सदस्य छन् ।






