बृद्धाको बलात्कार पछि हत्या गर्नेलाई २६ बर्षको जेल

गगनशिला खड्का
गुल्मी १४ चैत ।  बृद्धालाई बलात्कार गरी हत्या गर्ने एक व्यक्तिलाई जिल्ला अदालत गुल्मीले २६ वर्षको जेल सजाय सुनाएको छ । हर्मीचौर गाविस – ३ की ६९ वर्षिया बृद्धा देउरुपा सापकोटालाई वलात्कार गरी हत्या गरेको अभियोग लागेका ठुलोलुम्पेक–१ घर भई अर्वेनी–२ मा डेरा गरी बस्ने ४० वर्षिय देवबहादुर थापालाई २६ वर्ष जेल सजाय सुनाएको हो ।
थापाले गत साउन २२ गते दिउँसो घरमा एक्लै भएको मौका छोपी बृद्धाको घरमा पुगेर चिया पकाउन लगाई खाएको केहि वेरमै जवरजस्ती करणी गरेपछि  उक्त कुरा प्रकाशमा आउछ भन्ने डरले कोदालाको पासोले टाउकोमा हानी हत्या गरेको अदालतको फैसलामा उल्लेख छ । गुल्मीका जिल्ला न्यायाधीस ऋषिराम आचार्यको ईजलासले अभिुयुक्त थापालाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ (१) वमोजिम सर्वस्व सहित जन्म कैद २० वर्ष र जवरजस्ती करणी महलको ३ (५) वमोजिम ६ वर्ष सहित कुल २६ वर्ष कारगार कैदको फैसला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विहारी मौर्यले जानकारी दिए । जिल्ला अदालत गुल्मीबाट फैसला भएको मुद्धामा सबैभन्दा धेरै कैद भएको यहि घटना रहेको  अदालतका नायव सुव्वा रामबहादुर कुँवरले बताए ।
विपन्न परीवारकी सापकोटाका श्रीमान घरमा नभएको मौका पारी थापाले बलातकार गरी हत्या गरेका थिए । घटनाको केहीदिनमै प्रहरीले थापालाई पक्राउ गरेको थियो । पुर्पक्षका लागि थुनामा राखिएका थापालाई अदातलको फैसला पछि कारागार चलान गरीएको छ ।