लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी नयां नेतृत्वका लागि तिलक गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । संस्थालाई दीगो, संस्थागत र प्रभावकारी बनाउन कुशल नेतृत्वको आवश्यकता पर्ने भन्दै गैरेअध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएको बताए । (एनआरएनए) पोर्चुगलको निर्वाचन अगष्ट २५मा तय भएपछि पोर्चुगलको नेपाली डायस्पोरा अहिले त्यतैतिर व्यस्त छ ।
२००८ देखिनै एनआरएनए पोर्चुगल सँग आबद्ध रहदै आएका गैरेले (२०१९–०२१) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । पोर्चुगलको सिंगो नेपाली समाजको सेवामा निष्ठापूर्वक अनवरत लागि पर्ने प्रतिवद्धता सहित एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा स्थापित गराउनु नै आफ्नो एकमात्र लक्ष्य रहेको उनले बताए ।
एकता, सद्भाव र सहकार्यको मूल नारालाई अगाडी सार्दै आफुले आर्जन गरेको ज्ञान, सिप, क्षमता र अनुभवलाई भरपूर्ण प्रयोग गरेर संघलाई बिश्वकै ‘नमुना एनआरएन’ बनाउने लक्ष्य रहेको बताए । निहीत स्वार्थ परिपूर्तिका लागि समाजलाई तोडेर र भांडेर होईन,समाजलाई जोडेरे मात्रै साझा लक्ष्य र सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता आत्मसात गर्दै जाने पनि जानकारी गराए।
गैरेका आफ्ना भावी योजना र कार्यक्रमहरु –१६ बुंदे घोषणापत्रसहित चुनावी मैदानमा
१. संघलाई संस्थागत रुपमा सशक्त, सक्षम र बलियो बनाउने ।
२. बिश्वकै नमुना एनआरएन / उत्कृष्ट एनआरएन बनाउने ।
३. पोर्चुगलमा नेपाली दूतावास र नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि पहल गर्ने ।
४. नव आगन्तुक नेपालीहरुका लागि कागजी प्रकृयालाई सहज बनाउनका लागि कानुनी सहायता कक्ष ‘हेल्प डेस्क’ को स्थापना गर्ने ।
५. भैपरी आउने समस्यालाई मध्येनजर गरेर ‘आकस्मीक राहत कोष’ को स्थापना गर्ने र कोष बृद्धीको लागि पहल गर्ने ।
६. नव आगन्तुक नेपालीहरुका लागि पोर्चुगिज भाषा कक्षाको सञ्चालन गर्ने ।
७. नेपालको पर्यटन प्रबृद्र्धन गर्न, नेपाल र नेपालीको बिषयमा जानकारी दिन र प्रचार प्रसार गर्नका लागि ‘नेपाल हाउस’ को स्थापना गर्ने ।
८. समस्यामा परेका नेपालीहरुको उद्धार, राहत र समस्या समाधानका लागि सम्बन्धीत निकायसंग बिशेष पहल र समन्वय गर्ने ।
९.राजधानी लिस्बन भन्दा बाहिर बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको समस्या समाधान र कागजी प्रकृयाको सहजताका लागि कानुनी सहायता र सहजीकरण गर्ने ।
१०. नेपाली कला र लोक संस्कृतीको संरक्षण, सम्बृद्धन र प्रबृद्र्धनका लागि ‘नेपाल फेस्टीबल’ लाई निरन्तरता दिने ।
११. संघको कार्यालयलाई अझै ब्यबस्थीत र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने ।
१२. कृषी क्षेत्रमा कार्यरत नेपालीहरुमा देखिएका समस्या समाधान र बेरोजगार नेपालीहरुलाई रोजगारीका लागि पहल र समन्वय गर्ने ।
१३. नेपाली बालबालिकाहरुको बाहुल्यता रहेको यहांको सरकारी बिद्यालयमा ऐच्छिक नेपाली बिषय अध्यापन गराउनका लागि पहल गर्ने ।
१४. पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाहरुसंग समन्वय र सहकार्य गर्ने ।
१५. प्रवासी नेपालीहरुका समग्र मुद्धालाई जोडदार रुपमा उठाउने ।
१६ . एक पटको नेपाली सदैको नेपाली भएकाले दोहोरो नागरीकता सम्बन्धि बिशेष पहल गर्ने ।






