काठमाडौं– छिटपुट घटनाबाहेक प्रदेश नम्बर २ को निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका लागि सोमबार प्रदेश २ का आठ जिल्लामा मतदान भएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गत राप्रावि मतदान केन्द्रमा चारवटा मतपत्र अधिकृतको हस्ताक्षर बिना बाँडिएको विषयमा दलका प्रतिनिधिहरुबीच विवाद भएपछि मतदान केहीबेर रोकिएको थियो ।
धनुषाको एउटा मतदान केन्द्रमा अपांगले सहयोगी प्रयोग गर्ने विषयमा विवाद भएपछि केहीबेर मतदान स्थगित भएको थियो । सर्लाहीको कौडेना गाउँपालिका( ४ मोतिपुरमा मतदान गर्न लाइनमा बसेकालाई ढुंगा प्रहार गरिएको थियो । ढुंगा लागेर एकजना घाइते भएका छन् । रौटहटमा केहीबेर स्थिति असामान्य भए पनि प्रहरीले भीड नियन्त्रणमा लिएको थियो ।
योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।






