सिंगापुर । टि–२० विश्वकप क्रिकेटको एसिया छनौटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल हारेको छ । आज सिंगापुरमा भएको खेलमा कतारले नेपाललाई चार विकेटले हराएको हो ।
१२३ रनको विजयी लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा जाहीर इब्राहिमले ९ बलमा १२ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए ।
पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा आज देखि सिंगापुरमा सुरु भएको हो । यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।






