तम्घास । दुई दिन लगातार परेको वर्षाका कारण गुल्मीमा ७ जनाको मृत्यु भएको छ । राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू, उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिनु भयो । यस्तै उहाँकै १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् । पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ ।
सत्यावती गाउँपालिका वडा ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको र गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिनु भयो । शवको पहिचान हुन सकेको छैन । चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताउनु भयो ।
यसैगरी, सत्यावती गाउँपालिका –३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता भएको स्थानीयले बताएका छन् ।
वर्षा नरोकिएकाले प्रहरीको टोली पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।






