शारिरिक अस्वस्थता भएपछि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह नेपाल फर्किईन्

सिड्नी । शारिरिक रुपमा अस्वस्थता भएपछि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह नेपाल फर्किएकी छिन् । हिमानी कोश अष्ट्रेलियाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन् अगष्ट ९ तारिख बेलुकी सिड्नी आईपुगेकी उनी सोमबार बिहान ११ बजे पूर्व निर्धारित समय भन्दा अगाडी नै सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएकी हुन् ।

उनलाई (सिभीएर टन्सिलाईटिस) अर्थात घाँटीको समस्या भएपछि नेपाल फर्किएको हिमानी कोश  अष्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत कार्कीले बताईन् । निर्धारित कार्यक्रम अनुसार ३ वटा औपचारिक कार्यक्रम सकेर अनौपचारिक तथा भेटघाट कार्यक्रम गर्ने कार्यतालिका तय गरिएपनि पूर्व युवराज्ञी हिमानी ३ वटा कार्यक्रममा सहभागी भएपश्चात नेपाल फर्किएकी हुन् ।

शारिरिक अस्वस्थता भएपछि पूर्व युवराज्ञी हिमानी नेपाल फर्किएको र यसपश्चात उनको समयतालिका अनुसार ट्रष्टले आयोजना गर्ने भनिएका अन्य कार्यक्रम समेत स्थगित गरिएको कार्कीको भनाई छ ।

पूर्व युवराज्ञी हिमानीसगैं स्वकीय सचिव नेपाल फर्किएपनि पूर्व राजकुमारी शीतश्मा राज्यलक्ष्मी देवी शाह, पूर्व राजकुमारी डिलाशा राज्यलक्ष्मी देवी राणा, साइक रेश्मा राणा, सदस्य सचिव.डा अर्पणा शाह, सञ्चालक समितिका सदस्य अधिवक्ता अनिता शर्मा र कानुनी सल्लाहकार स्मिता सिंह लगायत भने केही दिन अष्ट्रेलियामै बस्ने कार्यक्रम रहेको छ ।

पूर्व युवराज्ञी शाहले अगष्ट १२ तारिखमा आयोजित कार्यक्रममा टेबल टेबलमा गएर अन्तरक्रिया ईच्छा व्यक्त गरेपनिन शारिरिक रुपमा अस्वस्थ भएपछि त्यसो गर्न नसकेपनि अन्य सम्पूर्ण कार्यक्रम भने सोँचे भन्दा भव्य रुपमा सफल भएको कार्कीले बताईन्।

ट्रष्टले महिला शशक्तिकरण लगायत च्यारिटी सकंलन र भेटघाट कार्यक्रम गरेको थियो । शाहले अगष्ट १० मा नर्थ क्यामरेमा आयोजना गरिएको महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम,अगष्ट ११ तारिखमा आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम र अगष्ट १२ तारिखमा सिड्नीको पार्लामेन्ट हाउसमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गरेकी थिईन् ।

उनको समयतालिका अनुसार अगष्ट १४ तारिखमा विभिन्न सांस्कृतिक स्थल भ्रमण गर्ने कार्यक्रम तय भएपनि शारिरिक रुपमा अस्वस्थ भएपछि हिमानी शाह कार्यक्रममा सहभागी नभई नेपाल फर्किएकी हुन् । यद्यपी पूर्व युवराज्ञीसगैं नेपालबाट आएको अन्य भ्रमण टोलीले भने मन्दिर एवम् धार्मिक स्थलको भ्रमण गरेका छन् ।

सिड्नीको साउथ वेस्टमा रहेको मिन्टो मन्दिरमा उनीहरुले दर्शन गरेका छन् । केही समय अगाडी युवराज दिपेन्द्रले उद्घाटन गरेको उक्त दिनको स्मरण गर्दै मन्दिर दर्शन गरेका हुन् ।

त्यस्तै उनीहरुले न्यू साउथ वेल्स राज्य परिषद महावाणिज्यदुत दिपक खड्काको निमन्त्रणामा भेटघाट कार्यक्रममा समेत सहभागी भएका थिए ।