नेपाल फेस्टिबल सिड्नी -२०२२ मा परेडको विशेष प्रस्तुती रहने

सिड्नी । नेपाल फेस्टिबल सिड्नी- २०२२ मा परेडको विशेष प्रस्तुती रहने भएको छ । आगाभी नोभेम्बर १९ तारिख शनिवार बरुड पार्कमा आयोजना गरिएको फेस्टिबलमा विगतका वर्षहरुमा भन्दा यसवर्ष अझै भव्य र परिमार्जित प्रस्तुतीका साथमा परेडको विशेष प्रस्तुती आयोजक गैर आवासीय नेपाली सघं एनआरएनए न्यू साउथ वेल्सले जनाएको छ ।

शनिवार बिहान ११ बजेदेखि १२ बजेसम्म हुने परेडमा यस वर्ष कुमारी रथयात्रालाई समेत समावेश गरिएको परेड संयोजक सन्ध्या शाहले लण्डन नेपाल न्यूजलाई जानकारी दिईन् । शाहले परेडलाई व्यवस्थित र भव्य बनाउन विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् एनआरएनएका प्रतिनिधि सम्मिलित बैठक सम्पन्न भएको बताईन् ।

परेडमा लाखे, शिव पार्वती, कुमारी रथयात्रा, पञ्चकन्या, नेपाली मौलिक पञ्चेबाजाका साथमा विभिन्न झाँकी र अन्य विभिन्न नेपाली मौलिक संस्कृति झल्किने प्रस्तुती सहित बरउड पार्कबाट सुरु भई पार्क एभेन्यूमा जम्मा भएर कोमार स्ट्रीटबाट परिक्रममा गर्ने उनले बताईन् ।

परेडमा तमु समाज, तराई समाज, तामाङ समाज,सुदुपश्चिम समाज, धादिङ समाज,रुपन्देही समाज,अनेसासबाट आआफ्नै मौलिक नेपाली पहिचान झल्किने भेषभुषाका साथमा उपस्थित हुने समेत उनले जानकारी दिईन् ।

हिन्दु समाजले समेत आफ्नो प्रस्तुती दिने बताईएको छ । शाहले परेडमा सहभागी भएर नेपाललाई चिनाउन र चिन्ने अवसरमा सहभागी हुन सबै नेपाली र गैर नेपाली समुदायलाई आग्रह समेत गरेकी छिन् । परेडले मात्रै पनि विभिन्न नेपाली मौलिकताको प्रतिनिधित्व गर्ने भएकाले सबैलाई सहभागी हुन उनको आग्रह छ ।

सिडनीबाट २००६ मा सुरु भएको नेपाल फेस्टिबल प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको छ । यस अगाडी २०२० मा आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण फेस्टिबल हुन सकेको थिएन । २०१८ मा भएको नेपाल फेस्टिबलमा २ हजार जना परेडमा सहभागी भएका थिए ।