एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ब्रिटेनको तीन दिवसीय भ्रमणमा छन् । आफ्नो यो भ्रमणको सुरुवातमा उनले महारानी एलिजाबेथसँग भेटघाट गरेका छन् । यतिबेला ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प पनि उनीसँगै थिइन् ।
डोनल्ड ट्रम्प र मेलानिया ट्रम्पलाई बकिंघम प्यालेसमा औपचारिक तरिकाले स्वागत गरियो, त्यसपछि उनका लागि एउटा नीजि भोजको व्यवस्था गरिएको थियो ।
ट्रम्पले उक्त भेटबारे ट्वीट गरेर जानकारी दिए, ‘लण्डनको भ्रमण निकै शानदार चलिरहेको छ ।’
यसका साथै उनले लेखे, ‘पूरा शाही परिवार उत्कृष्ट छन् र अमेरिका ब्रिटेनको सम्बन्ध निकै बलियो छ ।’
अन्य एक ट्वीटमा ट्रम्पले दुई देशबीच व्यापारसँग जोडिएको एउटा ठूलो सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरेका छन् ।
डोनल्ड ट्रम्प र मेलानियाको स्वागतमा आयोजित लञ्चमा विभिन्न प्रकारको व्यञ्जन पस्किइएको थियो । यतिबेला प्रिन्स चार्ल्सको पनि उपस्थिती थियो ।
ट्रम्प र लण्डनका मेयर भिडेः
यसअघि डोनल्ड ट्रम्पले लण्डनका मेयर सादिक खानको आलोचना गरे ।
ट्रम्प र सादिक खान पहिले पनि एक–अर्कासँग भिडिसकेका छन् । यस्तोमा जब ट्रम्प लण्डन पुगे तब दुईबीचको ‘ट्वीटर वार’ देख्न पाइयो ।
ट्रम्पले सादिक खानबारे ट्वीट गरे, ‘सादिक खानले लण्डनको मेयरको रुपमा निकै बेकारको काम गरेका छन् । उनी अमेरिकी राष्ट्रपतिको ब्रिटेन भ्रमणका कारण निकै चिन्तामा छन् जबकी ब्रिटेन र अमेरिकाबीच निकै राम्रो सम्बन्ध छ । उनले मलाई होइन लण्डनको अपराधमा ध्यान दिनुपर्छ ।’
यस्तै, अर्को तर्फ सादिक खानले ट्रम्पको स्वागतका लागि रेड कार्पेट बिछ्याउन आवश्यक नभएको बताएका छन् ।
सादिक खानले ट्वीटरमा एउटा भिडियो पनि पोष्ट गरेका छन् जसमा उनले डोनल्ड ट्रम्पलाई सम्बोधन गर्दै महिलासँग कस्तो व्यवहार गर्नुपर्ने बताएका छन् ।
ट्रम्पविरुद्ध विरोध प्रदर्शनः
ट्रम्प दम्पत्ति सोमबार जब लण्डन पुगे तब उनीहरु बस्ने व्यवस्था सेन्ट्रल लण्डनस्थित अमेरिकाका राजदूतको निवास स्थानमा गरिएको थियो ।
ब्रिटेनका विभिन्न शहरमा ट्रम्पको भ्रमणको विरोधमा प्रदर्शन पनि गरियो । उक्त विरोध प्रदर्शन लण्डन, म्यान्चेस्टर, बेलफास्ट र बर्मिंघमसहित विभिन्न शहरमा भइरहेको छ ।
लेबर पार्टीका नेता जरेमी कोरबिनले सरकारको तर्फबाट ट्रम्पका लागि आयोजित डिनरमा भाग नलिने निर्णय गरे । लेबर पार्टीका प्रवक्ताका अनुसार जेरेमी लण्डनमा भइरहेको एक विरोध प्रदर्शनमा भाग लिनसक्ने र त्यसलाई सम्बोधन पनि गर्नसक्छन् ।
डोनल्ड ट्रम्प र ब्रिटेनका प्रधानमन्त्री टेरेजा मेबीच मंगलबार बैठक हुनेछ । यतिबेला दुई नेता जलवायु परिवर्तन र चीनको टेक्नोलोजी कम्पनी ह्वावेको सम्बन्धमा चर्चा गर्नसक्छन् ।






