बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले संबोधन गर्ने,

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली युरोपको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने भएका हुन् ।
आउँदो जुन १० देखि १२ सम्मको तीन दिने भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आउने भएका छन् । बेलायती प्रधानमन्त्री टेरेसा मेको निमन्त्रणामा प्रधानमन्त्री ओली बेलायत आउने भएका हुन् ।सन् २००२ मा सम्पन्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण नै नेपालका प्रधानमन्त्रीको पछिल्लो बेलायत भ्रमण हो । लण्डनस्थित नेपाली दूतावासका अनुसार जुन १० तारिख दिउंसो प्रम ओली लण्डन उत्रिनेछन् । सोहि सांझ अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् ।

जुन ११ को बिहान प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता हुनेछ । जुन १२ को बिहान लण्डनस्थित नेपाली दूतावासमा उनको सम्मानमा एक रिसेप्सन आयोजना हुनेछ । बेलायतमा रहंदा प्रधानमन्त्री ओलीले भूपू गोर्खा र बेलायतको नेपाली समुदायलाई पनि भेट्ने कार्यक्रम छ । ब्रेक्जिट प्रक्रियामा गतिरोध कायम रहंदा प्रधानमन्त्री टेरेसा मेले राजिनामा गरेको अवस्थामा नेपालका प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो । यो भ्रमण दुई देशबीचको सयौं वर्ष पुरानो सम्बन्धलाई थप उचाई दिनमा महत्वपुर्ण बन्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीले बेलायत स्थित नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *