बेलायतकी प्रधानमन्त्री टेरेसा मेले आफ्नो पदबाट राजीनामा दिने घोषणा

लण्डन । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले आउँदो महिना ७ जुनका दिन सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी कार्यवाहक प्रधानमन्त्रीमा रहिरहने छिन् ।
शुक्रबार बिहान आफ्नो कार्यालय १० डाउनिङस्ट्रिटबाट सम्वोधन गर्दै श्रीमती मेले ब्रिटेनमा सन् २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले सक्दो कोशिश गरेको बताइन्। तर ब्रिटेन युरोपेली संघ बाट बाहिरिने सम्झौता (ब्रेक्जिट) लागू गर्न नसकेकोमा उनले खेद व्यक्त गरिन्। आँखा भरि आँशु ल्याउंदै उनले ब्रिटेनको दोश्रो महिला प्रधानमंत्री हुनपाउनु आफ्नो सौभाग्य भएको पनि बताइन्।
उनले आफुले माया गरेको मुलुकको सेवा गर्न पाउंदा आफु कृतज्ञ भएको बताइन्। तत्कालिन प्रधान मंत्री डेभिड क्यमरनले आफ्नो पदबाट राजिनामा दिए पछि जुलाई २०१६ मा मे प्रधानमन्त्री चुनिएकी थिईन् । प्रधानमंत्री मेले युरोपेली संघसंग गरेको सम्झौता संसदले तीन पटक अस्वीकार गरिदिएको थियो । त्यस पछि उनले विपक्षी लेबर पार्टीसंग छलफल शुरु गरेकी थिइन् । तर ती वार्ता पनि फलदायी नभए पछि उनी माथि पद छाड्न दबाब बढेको थियो ।
प्रधानमन्त्री मे ले ब्रेक्जिट सम्बन्धी उनको पछिल्लो योजनाका विरुद्ध आफ्नै सांसदहरूबाट कडा प्रतिरोधको सामना गर्नु परेको थियो। उनको नयाँ प्रस्तावमा विभिन्न पार्टिको समर्थन समेत जुटाउने प्रयास स्वरूप केही छुटहरूको समेत व्यवस्था थियो
अब नयाँ नेता छान्न कन्जरभेटिभ पार्टी भित्र हुने चुनावमा भूतपूर्व विदेश मन्त्री बोरिस जोन्सनको सम्भावना बढीरहेको बताइन्छ । तर नयां नेतालाई पनि इयुसंग वार्ता गरी ब्रेक्जिट सम्झौता संसद बाट पारित गराउन सहज नहुने जानकारहरु बताउंछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *