चेल्सी, म्यान्चेस्टर युनाईटेड र एभर्टन विजयी

काठमाडौं, ९ चैत्र । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा चेल्सी, म्यान्चेस्टर युनाईटेड र एभर्टन विजयी भएका छन् । लिग लिडर चेल्सीले हल सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्ड, डिएगो कोष्टा र लोईक रेमीले एक एक गोल गरे । हल सिटीका अल मोहोमादी र अबेल हर्नान्डेजले एक एक गोल गरे ।
गएरातीको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २-१ ले हरायो । म्यान्चेस्टर युनाईटेडको लागि दुबै गोल हुँवा माटाले गरे । लिभरपुलका ड्यानिएल स्टरीजले एक गोल फर्काए । गएराती भएको अर्को खेलमा एभर्टनले क्विन्स पार्क रेन्जर्सलाई २-१ ले हरायो । गएरातीका खेलहरुपछि २९ खेलबाट ६७ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ६१ अंकको साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानको आर्सनलको ६० अंक छ । ५९ अंकको साथ म्यान्चेस्टर युनाईटेड चौथो स्थानमा पुगेको छ ।