काठमाडौँ– अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ ।
प्रतिनिधिसभा अन्र्तगतको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको वाईडवडी विमान खरिद प्रकरणको छानविन गर्न गठित उपसमितिले अध्ययनका क्रममा सार्वजनिक खरिद कार्यालयको काम कारवाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो ।
वाईडवडी विमान खरिद प्रक्रियासँग जोडिएका संघ–संस्था र निकायसँगको छलफल र अनुगमनको क्रममा उपसमितिले सार्वजननिक खरिद कार्यालय स्रोत साधनको चरम अभावमा रहेको र सोही कारण प्रभावकारी ढंगले काम गर्न नसकेको फेला पारेको हो ।
सार्वजनिक खरिदका विषयमा नया ऐन आवश्यक रहेको वा संशोधन गर्नुपर्ने तथा नीतिगत अन्य परिर्वतनका सामान्य विषयमा पनि कार्यालयले गृहकार्य नगरेको पाईएको उपसमिति संयोजक दिपक भट्टले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा उपसमितिले वाईडवडी विमान खरिद सम्बन्धमा तयार पारेको अध्ययन प्रतिवेदन समिति सभापतिलाई हस्तान्तरण गरेको छ । समितिको बुधबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया र भियतनाम भ्रमणबारे समितिलाई जानकारी गराएका थिए ।
भियतनाम भ्रमणबाट त्यहाँको आर्थिक विकासको गतिबारे जानकारी लिनुको साथै दुई मुलकबीच प्रत्यक्ष हवाईसेवा जोड्ने तथा दुवै देशका कुटनीतिक र सरकारी राहदानी वहाकहरुलाई भिषा फ्रि गर्ने लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए ।
बैठकमा समिति सदस्य भीम रावलले बेलायती गोर्खा सैनिकहरु र नेपालको सिमा क्षेत्र सुरक्षाका विषयमा यसअघि गरेको निर्देशन कार्यान्वयबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । बैठकमा धारणा राख्ने समिति सदस्यहरुले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा आएका सुझावलाई सत्ता पक्ष र प्रतिपक्ष दलको रुपमा नहेरी राष्ट्रहितको रुपमा लिएर कार्यान्वयन गर्न सुझाव दिएका थिए ।






