लण्डन। बेलायतमा रहेका नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बन्दै गएको ‘माया टी–१० क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करण आगामी अगष्ट २ तारिख आइतबार लण्डनमा आयोजना हुने भएको छ। प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुनेछ।“फ्री प्रवेश, फ्री पार्किङ छ।
माया इभेन्ट्सको आयोजनामा लण्डनस्थित वेकम्ब हाउस क्रिकेट क्लबको मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितालाई यस वर्ष झनै भव्य, व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको छ।
यस वर्षको प्रतियोगिताको मुख्य आकर्षणका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर Gulshan Jha सहभागी हुने भएका छन्। उनी माया टी–१० का ब्राण्ड एम्बासडरसमेत हुन्।
त्यस्तै, नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू Bhim Sharki, Arjun Saud र Rijan Dhakal माया क्रिकेट क्लबबाट मैदान उत्रिनेछन् भने Ishan Pandey र Binod Bhandari एभरेस्ट राइनोजबाट खेल्ने तय भएको छ।
कुल ६ टोली र ६ राष्ट्रिय खेलाडी सहभागी रहने प्रतियोगिताले यस वर्ष झनै विशेषता थप्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा गौतमबुद्ध क्रिकेट क्लब, एभरेस्ट राइनोज, माया क्रिकेट क्लब, साथी क्रिकेट क्लब, गोर्खा केन्ट क्रिकेट क्लब र मिडल्यान्ड्स वारियर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
टोली दर्ताका लागि तोकिएको समयसीमा (जुलाई १) भित्र ६ टोलीले मात्र दर्ता गराएका थिए। त्यसपछि थप टोलीहरूले इच्छा देखाए पनि आयोजकले पूर्वनिर्धारित नियमअनुसार छ टोलीलाई मात्र सहभागिता गराइएको जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले £३,००० नगद पुरस्कार प्राप्त गर्नेछ, जुन बेलायतस्थित नेपाली समुदायबीच आयोजना हुने क्रिकेट प्रतियोगितामध्ये हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीमध्ये एक मानिएको छ।
प्रतियोगिता स्थलमा नेपाली खानाका परिकारसँगै विभिन्न मनोरञ्जन कार्यक्रम तथा बालबालिकाका लागि फेस पेन्टिङ, बाउन्सी क्यासलजस्ता आकर्षणहरू पनि रहनेछन्।
माया इभेन्ट्स तथा माया क्रिकेट क्लबका संस्थापक राज पाण्डे र डा. रक्षा थापाले प्रतियोगितालाई अझ भव्य र गुणस्तरीय बनाउन तयारी भइरहेको बताउँदै सबै क्रिकेटप्रेमी नेपालीलाई निम्तो दिएका छन्।






