काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका कतिपय नेता राजतन्त्रको सपना बोकेर हिँडिरहेकामा आफूलाई अचम्म लागेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७०औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने–‘कांग्रेसका कतिपय नेता अझैपनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा अचम्म लागेको छ ।’
‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिँड्दा विचित्र लाग्छ । मेरो शासक भइदेऊ भनेर कुनै लोकतन्त्रवादीले निवेदन हाल्दैन’–उनले भने ।
सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको आरोप लगाउँदै कांग्रेसको त्यो नीति गलत रहेको बताए ।
राष्ट्रियताका सन्दर्भमा कम्युनिस्टहरुसँग नमिलेको भन्दै प्रधानमन्त्री ओलीले ‘कांग्रेसले गलत बाटो समात्यो । कांग्रेसले त्यो बाटो अहिले पनि सच्याउन सकेको छैन’–भने ।
विगतमा धेरै दबाब दिएर बाध्य पारेपछिमात्र कांग्रेस सहकार्यमा आएको जिकिर गर्दै ओलीले आइन्दा प्रतिक्रियावादीसँग घाँटी जोड्ने बाटोमा नलाग्न सचेत पनि गराए ।
उनले कांग्रेसले लोकतान्त्रिक शक्तिसँगै सहकार्य गर्नुपर्ने बताए ।






