एनआरएन युकेमा चुनावी प्यानल बन्दै,अध्यक्षमा ५ उत्रिए मैदानमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आठौं अधिवेशन चुनाव आउन पाँच महिना बाँकी छँदै प्यानल बनाउन सुरु गरिएको छ । आगामी सेप्टेम्बर १४ र १५ तारिखमा अल्डरसटमा हुने अधिवेशनका लागि समूह निर्माणको कसरत सुरु भएको छ ।

निर्वाचनमा सबै उपाध्यक्षहरु पुनम गुरुङ, शेर बहादुर सुनार, सुशीला राई, प्रेमगाहा मगर र ललित न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । महासचिव आर.के. त्रिपाठीले भने पुनः एनआरएनए यूकेको महासचिव वा एनआरएनए युरोप संयोजकमा लड्ने आकांक्षा व्यक्त गरेका छन् ।

बेलायतको नटिङहममा सोमबार बसेको संघको बैठकले सेप्टेम्बर १४ तारिख नयाँ नेतृत्व चुन्न निर्वाचन र १५ तारिख साधारणसभा गर्ने निर्णय गरेको हो । निर्वाचन र सदस्यता वितरण पारदर्शी बनाउन संघका अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठी सम्मिलित सदस्यता सिकायत कमिटी बनाइएको छ ।

महासचिव आरके त्रिपाठीले ३१ जुलाई भित्र संघको सदस्यता लिइसक्नुपर्ने निर्णय गरिएको जानकारी दिए । यसपटक सदस्यता शुल्क जम्मा १० पाउण्ड तोकिएको छ । एनआरएन सदस्यता अनलाइन वा पेपर फारामबाट लिन सकिने निर्णय गरिएको छ । सदस्यता दर्ता व्यवस्थित गर्न पूर्ण गुरुङलाई सचिवालय सचिव नियुक्त गरिएको छ । ५०० भन्दा बढि सदस्यता बनेका राज्य समन्वय समिति वा काउन्टी समवय समितिका लागि बेग्लै निर्वाचन बुथ राख्ने निर्णय भएको छ ।

बैठकले सदस्यता वितरण अभियानलाई तीव्रता दिन आगामी ५ मेमा प्लमस्टिड, १२ मेमा गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारो र १८ मेमा स्वीन्डनमा विशेष कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । बैठकले च्यारिटी दर्ता प्रक्रियालाई निरन्तरता दिने निणय गरेको छ । बैठकमा १७ (१९ कार्यसमितिले संगठन विस्तार, गैर आवासीय नेपाली नागरिकता पूर्ण गराउने अभियानमा सफलता, सदस्यता विस्तार व्यापक, युरोप बैठकमा सहभागिता, वौद्धिक क्षेत्र तथा व्यवसायीहरुसंग अन्तरक्रिया, आपतकालिन सहयोग, नेपाल सरकारका प्रतिनिधि तथा सांसदहरुसंग विभिन्न मुद्दामा लविङ, च्यारिटी तथा अन्य गतिविधिमा सहभागिता आदिलाई प्रगतिका रुपमा निष्कर्ष निकालेको छ ।

स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदको अधिवेशन एवं निर्वाचनका लागि जुलाई २०१९ मा हुने विधान अधिवेशनमा प्रष्ट उल्लेख गरि एनआरएनए यूके र राज्य समन्वय समितिको निर्वाचन एक व्यक्ति एक पदको सिद्धान्त अनुसार एकै दिन गराइने निर्णय पनि भएको छ ।

संघका अध्यक्ष योगकुमार फगामीको अध्यक्षमा बसेको उक्त बैठकमा उपाध्यक्षहरु शेरबहादुर सुनार, पुनम गुरुङ, प्रेमगाहा मगर, सुशीला राई, ललितकुमार न्यौपाने, महासचिव आरके त्रिपाठी, उप(महासचिव विनय अधिकारी, सचिव तारानाथ भण्डारी, सदस्यहरु जित रानाभाट, होमनाथ पौडेल, अर्कराज तिम्सिना, गंगा राना, राजन खकुरेल, नारायण गाउंले, वेल्स राज्य समिति संयोजक रामचन्द्र पोखरेल, एनआरएनए आइसीसी सहकोषाध्यक्ष सोम सापकोटा लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *