काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटको तयारी सुरु गरेका छन् । उनले बिहीबार बिहान सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई बालुवाटार बोलाए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरे । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय,प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए । “कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।
बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने बताए ।
प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साकाका बासिन्दालाई राहत र पुनर्स्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरे ।






